विराटनगर,असार १६
मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । नदीको बहाब सामान्य अबस्थामा रहेपनि बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
३ दिन देखि मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जारी गरेको सुचनामा जनाईएको छ । पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ,’ जारी सूचनामा लेखिएको छ, ‘मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’
जल तथा मौसम विज्ञान विभागले आफ्नो आधिकारिक वेभसाइट मार्फत भनेको छ ‘आज पनि देशको अधिकांश पहाडी क्षेत्रमा वर्षा हुने देखिएकोले स–साना खोलानाला र पहिरोग्रस्त क्षेत्रमा सतर्कता अपनाइराखौं। भोली र पर्सी तराई, चुरे र मध्यपहाडी क्षेत्रमा मध्यम देखि भारी बर्षा हुने संभावना भएकाले बाढी आउन सक्छ, सतर्क रहौं । ’
जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ ।सूचनामा लेखिएअनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ । ‘नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु भोलि (आइतबार)देखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’ सतर्कता केन्द्रले सूचनामा लेखेको छ ।
आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ ।
कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको सुचना हेर्नुहाेस्