२३ असार, काठमाडौं ।
कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । अनुसन्धानमा दोहोरो (सरकार र बिरामीबाट) रकम लिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका, तर बिरामीसँग रकम असुलेका अस्पताललाई रकम फिर्ताको निर्देशन दिएको बताए ।
‘निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीसँग शुल्क उठाएको पाइएको छ । त्यस्ता अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिइएको छ,’ डा. अधिकारीले भने ।
निःशुल्क उपचारको सम्झौता गरेका अस्पतालले आइसोलेसनमा रहेकालाई दुई हजार, एचडियूकोे ३५ सय र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार सरकारबाट पाउँछन् । तर, बिरामीसँगसमेत रकम असुलेको भेटिएपछि मन्त्रालयले त्यस्तो रकम फिर्ता गर्न सम्झौता गरेका अस्पताललाई निर्देशन दिएको हो ।
किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि भएको छ ।
३ जेठदेखि १ असारसम्म किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, विराट अस्पताल, सर्वांग स्वास्थ्य सदन कुपन्डोल र मेडिकेयर अस्पतालविरुद्ध उजुरी परेका थिए । कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोल बाहेक अरू अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता गरेका छन् ।
बिरामीकोे उजुरीको आधारमा मन्त्रालयले गरेको सुरुवाती छानबिनमा निजी अस्पतालले बिरामीलाई ठगी गरेको पाइएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले उजुरीमाथि छानबिन गर्दा ठगी गरेको पुष्टि भएको बताए । ‘निःशुल्क उपचार गराउने सम्झौता गरेका अस्पतालले बिरामीसँग पनि रकम उठाएको भेटियो,’ अधिकारीले भने ।
उपचार गराउँदा संक्रमित वा आफन्तसँग सशुल्क उपचार गराउँदै छु भन्ने सुनिश्चित मञ्जुरीनामा नलिएको उजुरीकर्ताको दाबी छानबिनमा पुष्टि भएको अधिकारीले जानकारी दिए । उनीहरू सबैलाई बढी लिएको रकम फिर्ता गर्न र निर्देशन पालना नभएसम्म शोधभर्ना नगर्न भनिएको छ ।
सरकारसँग सम्झौता गरेका अस्पतालले रगत परीक्षण सिरम युरिया, क्रियाटिन, सुगर, सिआरपी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर परीक्षण, छातीको एक्स रे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शैंयाको शुल्क लिन पाउँदैनन् । त्यसैगरी, खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क गरिएको छ ।
कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोलले तोकेको शुल्कभन्दा बढी लिएका छन् । मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएको भन्दै ती अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।
बिरामीलाई अस्पतालले ठगी गरेका उजुरीहरू परेपछि गएको ३० जेठमा मन्त्रालयले डा. समीर अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।