२४ असार, एजेन्सी।
अफगानिस्तानको पश्चिमी क्षेत्रस्थित महत्वपूर्ण शहरमा तालिबान बिद्रोहीहरु केही समयका लागि प्रवेश गर्न सफल भएका छन्।
अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूह बाहिरिने क्रम जारी रहँदा तालिबानले अफगानिस्तानमा आफ्नो गतिविधि तथा नियन्त्रण बढाउँदै लगेको छ।
स्थानीय गभर्नरलाई उद्धृत गर्दै बिबिसीले दिएको जानकारी अनुसार तालिबान लडाकुहरु बाद्गीस प्रान्तको काला–ए–नाव जिल्लाको केन्द्र तर्फ बढेपछि सरकारी अधिकारीहरुलाई नजिकैको आर्मी बेसक्याम्पमा सारिएको थियो।
तर स्थानीय अधिकारी र रक्षा मन्त्रालयले पछि तालिबान लडाकुलाई सरकारी भवनबाट हटाइएको बताएका छन्। सरकारी सुरक्षा बलले शहरको अधिकांश भागबाट तालिबान लडाकुहरुलाई हटाएको पनि उल्लेख गरिएको छ।
अमेरिका र उसका सहयोगीहरुले सैनिक फिर्ता लैजान थालेपछि तालिबानले आफ्नो नियन्त्रण क्षेत्र बिस्तार गरिरहेको छ। अफगानिस्तानमा तैनाथ भएका अमेरिकी तथा नेटो आवद्ध विभिन्न देशका सैनिकहरुको अधिकांश समूह फिर्ता भइसकेको छ।
आउँदो सेप्टेम्बर ११ सम्ममा सबै सैनिक फिर्ता हुने र सुरक्षाको एकल जिम्मा अफगान सैनिकले पाउने गरि काम भइरहेको छ। काला–ए–नाव जिल्लाको केन्द्रमा प्रवेश गरेका तालिबान लडाकुलाई हटाउनका लागि सरक्षा बलले हवाई आक्रमण गरेको हो।
केही समयका लागि तालिबान लडाकुले सरकारी भवन आफ्नो कब्जामा लिए पनि सुरक्षा बल उनीहरुलाई हटाउन सफल भएको स्थानीय अधिकारीहरुले बताएको बिबिसीले उल्लेख गरेको छ।
शहरबाट फिर्ता हुनु पूर्व तालिबान बिद्रोहीहरु त्यहाँको जेलमा प्रवेश गरेर झण्डै ४०० कैदीलाई स्वतन्त्र गरेको जनाइएको छ। यसरी जेलबाट भगाइएका मध्ये एक सय भन्दा बढि तालिबान लडाकु रहेका छन्।
सुरक्षा बललेको निगरानीमा रहेको जेलमा बिना कुनै भिडन्त तालिबान लडाकु प्रवेश गरेका हुन्। तालिबान लडाकुले शहरको गुप्तचर निकायको भवनमा आगलागी गरेको बताएका गभर्नर हिसामुद्दिन शाम्सले सरकारी भवन तथा शहर तालिबानको नियन्त्रण भने नरहेको बताएका छन्।
तालिबान बिद्रोहीले तीन तिरबाट शहरमा आक्रमण गरेको समाचार संस्था रोयटर्सलाई बताएका छन्। स्थानीय बासिन्दाहरुमा त्रासदीको अवस्था रहेको पनि स्थानीय अधिकारीहरुले बताएका छन्।
पछिल्लो हप्तामा तालिबान बिद्रोहीले विभिन्न जिल्लाहरुमा आफ्नो नियन्त्रण कायम गरेको छ। अहिले अफगानिस्तानको झण्डै एक तिहाई क्षेत्रमा तालिबानको कब्जा रहेको ठानिन्छ। दैनिक रुपमा उनीहरुको नियन्त्रण क्षेत्र बिस्तार भइरहेको छ।
तर पनि अहिलेसम्म प्रान्तीय राजधानीहरुमा भने सरकारकै नियन्त्रण रहेको छ । तालिबान र अमेरिकाबिच भएको सहमति अनुसार सबै विदेशी सैनिक फिर्ता हुनु पर्ने छ र त्यसको सट्टामा तालिबानले आफू नियन्त्रीत क्षेत्रमा अरु कुनै पनि अतिवादी समूहको गतिविधि हुन दिने छैन।
तर विदेशी सैनिकको फिर्ती र तालिबानको गतिविधिमा भएको बढोत्तरीलाई लिएर अवस्था अस्थिर बन्ने भन्दै चिन्ता व्यक्त हुँदै आएको छ।
