विराटनगर,असार २०
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौंको माईतघर मण्डलालगायतका स्थानमा निषेधित क्षेत्र तोक्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलको बैठकले नागरिकको स्वतन्त्रतापूर्वक विरोध गर्न पाउने अधिकार कुण्डित हुनेगरी निषेधित क्षेत्र तोक्ने काम सरकारले गरेको निष्कर्ष निकाल्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा आज बिहान बसेको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा प्रतिस्थापन विधेयक मान्य नहुने चेतावनी पनि दिएको छ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका मूलभूत अवधारणालाई मोडेर ल्याएको प्रतिस्थापन विधेयक अस्विकार गरेर जाने निर्णय पनि गरिएको पार्टी संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
बैठकले वरिष्ठ चिकित्सक गोविन्द केसी र गंगामाया अधिकारीको जीवन रक्षाको माग गर्दै उनीहरुले उठाएको मागमा ऐक्यवद्धता जनाउन ३÷३ सदस्यीय संसदीय टोली नै गठन गरेको छ । संसदीय टोलीले जुम्ला पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझनेछ ।
त्यसैगरी आमरण अनसन बसेकी गंगामायाको माग सम्बोधन गर्न पनि सरकारलाई दवाव दिने निर्णय गरेको छ ।कांग्रेस संसदीय दलले मूल्य वृद्धि फिर्ता गराउन सरकारविरुद्धको सडक र सदन संघर्षलाई तीव्रता दिने निर्णय पनि गरेको छ । बैठकले संघीय संसद अन्तरगतको संसदीय समितिहरुको नेतृत्व संसदमा रहेको उपस्थितिको आधार तय गर्न पनि माग गरेको छ ।
संघीय संसद अन्तरगतको प्रतिनिधिसभामा १० र राष्ट्रियसभामा ४ वटा समिति गठन गर्ने व्यवस्था गरिएको छ । कांग्रेसले ती समितिहरुको सभापतिमा आफूहरुको २३ प्रतिशत उपस्थिति हुनुपर्ने अडान राख्दै आएको छ ।