२२ साउन, काठमाडौं ।
यसअघि कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई साउन २५ गतेदेखि अस्ट्राजेनेका खोप लगाइने भएको छ । दोस्रो डोज खोप लगाउन बाँकी ६५ वर्ष माथिका करिब १३ लाख ३८ हजार जेष्ठ नागरिकहरुलाई अस्ट्राजेनेका खोप दिइन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भुटानबाट आएको २ लाख ३० हजार डोज र जापानबाट शनिबार र आइतबार आउने अस्ट्राजेनेका खोप लगाउन लागिएको हो ।
खोप शाखा प्रमुख झलक शर्मा गौतमले भेरोसेलको दोस्रो डोज लगाउने कार्य सकिने लगत्तै कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिने जानकारी दिए । उपत्यकामा कोभिसिल्डको दोस्रो मात्रा लगाउन सुरु गरिहाल्ने र खोप आएसँगै प्रदेशमा पनि सुरु गर्ने उनले जनाए ।
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड जेष्ठ नागरिकलाई गत चैतमा लगाइसकिएको छ। भारतबाट खोप आउने कार्य रोकिएपछि सरकारले अस्ट्राजेनेका खोप लगाउने निर्णय गरेको थियो।