२२ साउन, काठमाडौँ ।
अर्थमन्त्री जनार्दन शर्माले राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहमा मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
मन्त्री शर्माले राज्यका हरेक नीतिहरू निरन्तर सुधारको प्रक्रियामा रहेकाले गुणात्मक सुधारको लागि काम गर्ने र हचुवा भरमा नभै गहन अध्ययन विश्लेषण गरेरै गर्ने उल्लेख गरे ।
बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताए।
बिदाइ मन्तव्यको क्रममा राजश्व सचिव पुडासैनीले नवनियुक्त अर्थमन्त्रीले अघि सारेको उपभोगवादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने भिजन महत्त्वपूर्ण र सान्दर्भिक रहेको भन्दै त्यसको कार्यान्वयनले राजश्व सङ्कलनमा समेत सुधार आउने तर्क गरे ।