एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

एमबिबिएस प्रवेश परीक्षाका सर्वोत्कृष्ट विद्यार्थी भन्छन्: सफलताको साँचो आत्मविश्वास

काठमाडौं : ‘हुने बिरुवाको चिल्लो पात’, यो उखान विश्वनिकेतन माध्यमिक विद्यालयका विद्यार्थी आशिक झामा लागु भएको छ। चिकित्शा शिक्षा आयोगले बिहीबार राति प्रकाशन गरेको एमबिबिएस प्रवेश परीक्षा नतिजामा झाले सर्वोत्कृष्ट स्थान हासिल गरेका छन्। धनुषा जिल्लाको सबैला नगरपालिकामा जन्मेका झा निम्नवर्गीय परिवारका हुन्। सुरुदेखि नै सरकारी स्कुलमा पढ्दै आएका उनले विज्ञान विषय लिएर कक्षा ११ र १२ काठमाडौंको त्रिपुरेश्वस्थित विश्वनिकेतन माविमा अध्ययन गरे।

दुई सय पूर्णांकको एमबिबिएस प्रवेश परीक्षामा झाले एक सय ८६ अंक प्राप्त गरेका छन्। यसबाट सरकारी विद्यालयका विद्यार्थी पनि कमजोर नभएको प्रमाण मिलेको उनका दाजु अम्वेशले बताए। विश्वनिकेतन स्कुलका प्रधानाध्यापक हेरम्बराज कँडेलले शुक्रबार आशिकलाई अबिर र खादा ओढाएर सम्मान गरे। सम्मान कार्यक्रममा सहभागी अम्वेशले आशिक सानैदेखि विलक्षण प्रतिभाको रहेको बताए। ‘भाइ सानैदेखि कोर्सका भन्दा विज्ञानका किताब बढी पढ्थ्यो,’ अम्बेशले नागरिकसँग भने, ‘आशिक सानैदेखि हुने बिरुवाको चिल्लो पात भनेझैं थियो।’ सम्मानपछि आशिकले दृढ विश्वास र संकल्प लिएकै कारण लक्ष्यमा सफलता हासिल गरेको बताए ।

‘हामी निम्नवर्गीय भए पनि घरमा बुवा, आमा र दाइले पढाइको वातावरण बनाइदिनुभएको थियो,’ आशिकले भने, ‘मलाई आफ्नो क्षमतामाथि दृढ विश्वास थियो । आफूमा दृढ विश्वास छ भने संसार जित्न सकिन्छ । मैले मेहनत गरेर लक्ष्यमा केन्द्रित भएर अध्ययन गरें। विश्वनिकेतनका शिक्षकहरूको साथ र सहयोगले मलाई एमबिबिएसमा नाम निकाल्न सहयोग गयो।’ आफू डाक्टर बनेपछि स्वास्थ्य सेवातर्फ थप अनुसन्धान गरी नयाँ आयाम ल्याउने काम गर्ने लक्ष्य रहेको उनले सुनाए। ‘विश्वले स्वास्थ्य सेवातर्फ ठूलो फड्को मारिसकेको छ,’ उनले योजना सुनाए, ‘मैले पनि आफ्नो देशका लागि नयाँ अन्वेषण गरी फरक तर स्वास्थ्य सेवा सबैको पहुँचमा सहज रुपले पुर्‍याउनेतर्फ काम गर्ने लक्ष्य लिएको छु।’,याे समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.