२८ साउन, विराटनगर ।
प्रदेश १ का विभिन्न संरक्षण गृहहरुमा आश्रितहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु गरिएको छ । मानव सेवा आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुलाई बिहीबारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन शुरु गरिएको हो ।
अभियानको सामाजिक विकास मन्त्री उषाकला राईले आज शुभारम्भ गरिन् । सडक आश्रित तथा सहयोगापेक्षीहरुलाई उद्धार गरि राखिएको विराटनगर १० को मानव सेवा आश्रमबाट अभियानको शुरुवात गरिएको हो । खोप अभियान शुरुवात गर्दै सामाजिक विकास मन्त्री राईले सडक आश्रित तथा सहयोगापेक्षीहरु सम्पूर्णलाई कोभिड १९ विरुद्धको खोप लगाईने बताइन् ।
मानव आश्रम तथा विभिन्न संरक्षण गृहमा रहेकाहरुको सवैलाई खोप लगाईने उनले बताइन् । मन्त्री राईले भनिन्,‘ अपाङ्गता भएका तथा अशक्त सवैलाई अभियानमा समेटिने छ ।’ लक्षित समूहले खोप लगाईरहेपनि संरक्षण गृहमा आश्रितहरुले खोप लगाउन नपाएको थाहा भएलगत्तै अभियान शुरुवात गरिएको मन्त्री राईले बताइन् ।
सामाजिक विकास मन्त्रालय सामाजिक महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले मानव सेवा आश्रम तथा संरक्षण गृहमा आश्रित सवैलाई खोप लगाईने बताइन् । उनले बिहीबार ३ सय बढीलाई खोप लगाईने बताइन् । मानव सेवा आश्रममा, प्रदेश सरकारद्धारा सञ्चालित दीर्घकालिन पुर्नस्थापना गृह, ओरेक, माईती नेपाल र एवीसीको संरक्षणमा रहेकाहरुलाई बिहीबार खोप लगाई सकिने उनले बताइन् ।