गरीब विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

गरीब विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक

पाल्पा, असार २३

पूर्वखोला गाउँपालिका–६, हेक्लाङका महिलाहरुले आफंै कपडा सिलाएर सरकारी विद्यालयका विपन्न विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक (ड्रेस) उपहार दिएका छन् ।

सिलाइकटाइ तालीम लिँदै आएका ६२ जना महिलाले पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय पोसाक सिलाएर दिएका हुन् । जनप्रिय माध्यमिक विद्यालयका ६१ जना, बालकल्याण प्राविका २५ जना, बालबालिकासहित प्राविका २१ जना, कालिका प्राविका ३४ जना र सत्यवति प्राविका २६ जना विद्यार्थीलाई निःशुल्क विद्यालय पोसाक उपलब्ध गराएका छन् ।

विद्यार्थीलाई एक कार्यक्रमकाबीच पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पौडेलले विद्यालय पोसाक हस्तान्तरण गर्दै लक्षित वर्गका लागि राम्रो काम गरेर हेक्लाङ एउटा नमूना बनेको विचार व्यक्त गरे ।

गाउँपालिकाले चालु आवमा दिएको रु चार लाखबाट हेक्लाङका ६२ जना महिलाले ६ महिने सिलाइकटाइ तालीम लिएका थिए । तालीम लिएका महिलाले गाउँकै एक सय ६७ बालबालिकालाई आफैले सिलाएर विद्यालय पोसाक दिएका हुन् । विद्यालय पोसाकबाट बालबालिका प्रत्यक्ष लाभान्वित भएका छन् ।

विद्यालय पोसाकको कपडा वडा कार्यालयले उपलब्ध गराएपछि महिलाले आफ्नो सीपलाई व्यवहारमै काम गरेर देखाउन यस्तो गरिएको महिलाहरुले बताए । बालकल्याण प्राविका प्रधानाध्यापक सन्तराम यादवले विद्यालय पोसाकबिना अधिकांश विद्यार्थी विद्यालयमा आउने गरेको बताउँदै गरीब भएकै कारण ड्रेस लाउन नसकेर विद्यालय नआउने समस्या अब समाधान भएको बताए।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.