सुर्खेत, असार २४
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा रु ९८ करोड छुट्याइएको बताएका छन्। नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको रु ९८ करोड पर्यटन विकासमा छुट्याइएको जानकारी दिए।
उनले पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको जनाए । “कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, मन्त्री बुढाले भने ।
जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो । पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय गे्रट टे्रलकनका लागि रु दुई करोड, बुलबुले ताल निर्माणमा रु पाँच करोड र काक्रेविहारका लागि रु १० करोड बजेट विनियोजन गरिएको छ ।
यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ ।
कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याए पनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको छ । पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले कम लगानीमा बढी प्रतिफल र रोजगार दिएर सुनिश्चितताका साथ निरन्तर चलिरहने एक मात्र क्षेत्र पर्यटन उद्योग हो भने ।
उद्योग, वाणिज्य, होटल व्यवसायी, निजी क्षेत्र नागरिक समाज तथा पत्रकारसहित सहभागी रहेको उक्त कार्यक्रममा खासगरी पर्यटकको बसाइँ लम्ब्याउन सक्ने खालको आवश्यक नीति, पूर्वाधार र वातावरण निर्माण गर्न सकिए मात्र पर्यटन क्षेत्रको विकास र समृद्धि हुने सुझाव दिइएको थियो ।
रासस