काठमाडौं: कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।
विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७÷७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।, याे समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन् ।