काठमाडौं : जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् ।
उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउँदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडका रूपमा चलाएको आरोप समेत उनीहरूले लगाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै जसपाका केन्द्रीय सदस्य समेत रहेका भाडावाल सरोकार समाजका अध्यक्ष बिष्णुजंग बस्नेतले बाध्य भएर उपेन्द्र यादवको समूह परित्याग गरेको घोषणा गरे । उनले भने, ‘देश २०७२ सालको भूकम्प र कोरोना महामारीमा जनता प्रताडित हुँदाखेरी यो पार्टीले जनतालाई केही दिन सकेन ।’ उनले १८ महिना उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेर आफूले मात्र कमाएर जनतालाई केही नदिएको आरोप लगाए ।
बस्नेतले संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपालबीच एकता भएपछि अध्यक्ष यादवको रबैया बदलिएको र पार्टीको घोषित रूपमा लिएको पार्टी नीतिलाई उल्लघंन गर्न थालेको आरोप लगाए । बस्नेतले भने, ‘फोरमले लिएको सात क्लस्टरलाई तीन क्लस्टरमा वकालत गर्न थालियो ।’ २०६५ सालदेखि आफूले घरबेटीको अन्यायविरुद्ध बोल्दै आए पनि राज्यले आफ्नो कुरा नसुनेको बताए ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।