काठमाडौं : भारतीय सीमा शसस्त्र बल (एसएसबी) ले तुइन फुकालिदिँदा महाकाली नदीमा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन १७ दिन पुग्दा पनि सकिएको छैन। तोकिएको समयभित्र नसकिएपछि गृह मन्त्रालयले छानबिन समितिलाई फेरि एक साताको समय थप गरेको छ ।
गृहका सहसचिव जनार्दन गौतम नेतृत्वको समितिलाई मंगलबार एक साताको समय थपेको हो । १० दिनको समयसीमा दिएर प्रतिवेदन बुझाउने गरी साउन १७ गते छानबिन समिति गठन गरेको थियो ।
१० दिनमा नसकिएपछि एक साता थपिएकोमा दोस्रोेपटक एक साता थपिएको हो । गत १५ साउनमा दार्चुला व्यास गाउँपालिका २ का जयसिंह धामी भारत जानेक्रममा खसेर बेपत्ता भएका थिए ।
तुइनबाट भारत जाने क्रममा पारितर्फ रहेका एसएसबीले तुइन फुकालिदिएको स्थानीयले बताएका छन् । घटनाको १९ दिन भइसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
सरकारले छानबिन प्रतिवेदनका आधारमा यस विषयमा भारतसँग कुरा गर्ने बताउँदै आएको छ । तर, छानबिनमै ढिलाइ हुँदा भारतसँग यस विषयमा कुरा हुन सकेको छैन ।
छानबिन समितकासंयोजक गौतमले अबको एक सातभित्र प्रतिवेदन बुझाउने बताए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।