७ भदाै, काठमाडाैँ ।
तालिबानहरूले अफगानिस्तान कब्जा गरेपछि उनीहरूले कस्तो शासन चलाउने हुन् र आफूहरूको भविष्य के हुने हो भन्ने डरले हजारौं अफगानहरू देश छोड्न आतुर देखिएका बेला राजधानी काबुलस्थित हमिद कारजाई विमानस्थलको गेटमा सोमबार फेरि गोली चलेको छ ।
हमिद कारजाइ देशबाहिर निस्किन एउटामात्रै विमानस्थल हो । विमानस्थलमा खटिएको जर्मन सेनाले ट्विटरमार्फत् सार्वजनिक गरेको जानकारी अनुसार गोली लागेर एक जना अफगान गार्डको मृत्यु भएको छ । हमिद कारजाई विमानस्थल अहिले अमेरिकी सेनाको नियन्त्रणमा छ भने अरू नेटो सदस्य राष्ट्रका सैनिकहरू पनि उद्धार कार्यका लागि खटिएका छन् ।
विदेशी फौजमाथि एक जना अज्ञात बन्दुकधारीले गोली चलाएको जर्मन सेनालाई उद्धृत समाचार संस्था रोयटर्सले जनाएको छ । विमानस्थलको उत्तरी गेटमा भएको गोली हानाहानमा अरू तीन जना घाइते भएको जनाइएको छ । विमानस्थलमा खटिएका नेटो अधिकारीहरूले स्थिति नियन्त्रणमा रहेको र विमानस्थलका सबै गेट बन्द गरिएको जनाएका छन् । यसअघि तालिबानहरूले विमानस्थलबाहिर भिड नियन्त्रण गर्न लडाकुहरू खटाएका थिए । तालिबानले काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छाड्न चाहने मानिसका कारण गएको हप्ता तनावपूर्ण बनेको काबुल विमानस्थल आइतवार केही व्यवस्थित भएकोमा आज फेरि गोली चलेको हो । तालिबानले काबुल नियन्त्रणमा लिएपछि भएको गोली हानाहान तथा भागदौड र हवाई जहाजबाट खसेर कम्तीमा २० जनाको ज्यान गइसकेको छ ।
यसैबीच अफगानिस्तानको समस्याबारे छलफल गर्न मंगलबार जी–७ का नेताहरूको आपत्कालीन बैठक बस्ने भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको छलफलपछि मंगलबार आपत्कालीन बैठक बस्ने तय भएको हो । बैठकमा अफगानिस्तान समस्या समाधानका लागि समान धारणा बनाइ संयुक्त पहल गर्ने बारेमा छलफल हुने बताइएको छ । विश्वका ७ शक्ति राष्ट्रको निर्णय पछि विश्वका अन्य राष्ट्रले अफगानिस्तानका विषयमा रणनीति तय गर्ने देखिन्छ । तर चीन रुस पाकिस्तानले भने तालिबानसँग हातेमालो गर्नसक्नेसंकेत दिईसकेका छन् । जी ७ संगठनमा संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, क्यानडा, फ्रान्स, जर्मनी इटली र जापान आवद्ध रहेका छन् ।
यसैबीच आइतबार बेलुकासम्म ५ सय ४ जना नेपाली अफगानिस्तानबाट फर्किएका छन् । अफगानिस्तानबाट फर्किएका उनीहरुलाई पोलियो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य सेवा विभागले सोमबारदेखि नै अफगानिस्तानबाट आउने नेपालीहरुलाई आएलगत्तै पोलियोविरुद्धको खोप दिइने बताएको छ । अफगानिस्तानमा पोलियो संक्रमण अझै हुने गरेको अवस्थामा त्यहाँबाट फर्किनेहरुमा पनि संक्रमणको जोखिम रहने हुँदा खोप लगाउने निर्णय गरिएको स्वास्थ मन्त्रालयले जनाएको छ । इन्टरनेशनल हेल्थ रेगुलेसन (आइएचआर) को सिफारिसमा खोप लगाइने भएको हो । विश्वका धेरै स्थानमा हाल पोलियो संक्रमण नरहेपनि अफगानिस्तान र पाकिस्तानमा भने अझै संक्रमण देखिने गरेको छ । नेपाल २०७० मा पोलियो मुक्त घोषित भएको थियो ।