१८ असोज, एजेन्सी।
फुमियाे किशिडा आधिकारिकरुपमा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् ।
पूर्व प्रधानमन्त्री योसिहिडे सुगाले बनेको एक वर्षमा आफ्नो पदबाट राजीनामा दिएसँगै उनको स्थानमा किशिडा प्रधानमन्त्री बनेका हुन् । गत हप्ता सत्तारूढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को आन्तरिक निर्वाचनमा किशिडालाई मुख्य नेताको रुपमा चयन गरिएको थियो ।
६४ वर्षीय किशिडासँग अब महामारीको कारण सुस्ताएको अर्थतन्त्रलाई लयमा ल्याउने र उत्तर कोरियाको चेतावनीजस्ता चुनौती छ ।
टोकियो ओलम्पिकपछि जापानमा सरकारप्रतिको अविश्वास बढेको अवस्थामा किशिडाको लागि लोकप्रियता बढाउनुपर्ने अर्को चुनौती छ ।
किशिडाले अब जापानमा हुने आम निर्वाचनमा सरकारको नेतृत्व गर्नेछन् । जापानमा आगामी नोभेम्बरमा आम निर्वाचन हुँदैछ । लामो समयदेखि प्रधानमन्त्रीको दौडमा रहेका किशिडा गत वर्ष सुगासँग पराजित भएका थिए ।
