२१ असाेज, काठमाडौँ ।
यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो ।
गुर्नाहको जन्म सन् १९४८ मा भएको हो । उनको बाल्यकाल तान्जानियाको जन्जिबार टापुमा बितेको थियो । उनी सन् १९६० को दशकमा शरणार्थीको रुपमा बेलायत पुगेका थिए । उनले १० उपन्यास लेखेका छन् र धेरै छोटो कथाहरु पनि लेखेका छन् । उनका धेरैजसो कृतिमा शरणार्थीहरुको समस्यालाई उल्लेख गरिएको छ ।
गत वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई प्रदान गरिएको थियो । साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो ।
यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ९ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।