२८ असोज, एजेन्सी । जापानका प्रधानमन्त्रीले आगामी आम चुनावका लागि यहाँको संसद्को तल्लो सदन, प्रतिनिधि सभा विघटन गरेका छन् ।
जापानी अधिकारीहरूले यो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरूले आज बिहीवार बसेको संसद्को बैठकलगत्तै संसद् विघटन भएको बताएका हुन् ।
यहाँ आउँदो अक्टोबर ३१ तारिखमा संसदीय चुनाव हुने भएको छ । यहाँको प्रतिनिधि सभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा चुनावको तयारी थालिएको छ ।
सत्तारुढ एलडीपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको चुनाव जितेपछि फुकिओ किशिदा यहाँका प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसलगत्तै उनले अर्को आम चुनावको तयारी थालेका थिए ।
किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले आफूले तुरुन्तै नयाँ चुनावको तयारी थाल्ने बताएका थिए ।
प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन् ।
उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरूलाई कार्यान्वयन गर्नका लागि भन्दै आम चुनावमा नागरिकको सहयोगको अपेक्षा गरेका छन् । उनले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरू ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग आग्रह पनि गरेका छन् ।