१७ कात्तिक, एजेन्सी।
तालिबानी सरकारले अफगानिस्तानमा विदेशी मुद्रामाथि प्रतिबन्ध लगाएको छ । तालिबानले बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको अलजजिराले जनाएको हो ।
‘देशको आर्थिक अवस्था र अन्त हितका लागि रहेका अफगान नागरिकले अफगान मुद्रा नै प्रयोग गर्नुपर्नेछ । इस्लामिक इमिरेट्स सबै नागरिक, पसल र व्यापारीलाई अब लेनदेनमा अफगानी मुद्रा मात्रै प्रयोग गर्न आदेश दिन्छ । विदेशी मुद्राको प्रयोगमाथि प्रतिबन्ध लगाइएको छ,’ तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
तालिबानको आदेश उल्लंघन गर्ने जो कोहीलाई कानुनी कारबाही गरिने समेत उल्लेख गरिएकाे छ । काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।
काबुलस्थित सरदार मोहम्मद दाउद खान सैनिक अस्पतालमा मंगलबार बन्दुक र बम हमला हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए ।
अफगानी बजारमा अमेरिकी डलर व्यापक प्रयोग हुने गर्छ । त्यस्तै सीमा क्षेत्रमा पाकिस्तानसहितका अन्य छिमेकी मुलुकको मुद्रा प्रयोग गरिँदै आएको छ ।