२२ कात्तिक, काठमाडौं ।
चीनले नेपाली सेनालाई ३ लाख डोज कोभिड–१९ विरुद्धको खोप दिएको छ ।
चिनियाँ जनमुक्ति सेनाको तर्फबाट नेपाली सेनालाई प्रदान गरिएको खोप नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले साेमबार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गरिन्। खोपसँगै १० वटा भेन्टिलेटर र एक सय वटा अक्सिजन कन्सन्ट्रेटर पनि नेपाली सेनालाई दिइएको छ ।
हस्तान्तरण कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिए ।चीनको सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइमा नेपाली सेना थप प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको सेनाले जनाएको छ ।
चीनले नेपाललाई कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री अनुदानमा सहयोग गर्दै आएको छ ।