१६ मंसिर, एजेन्सी ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबोले ताइबानबारे दिएको पछिल्लो अभिव्यक्तिबाट रुष्ट बनेको चीनले जापानी राजदूतलाई आपतकालीन बैठकमा बोलाएर सम्झाएको छ ।
बेइजिङस्थित जापानी राजदूतलाई चीनको विदेश मन्त्रालयले बुधबार साँझ आपतकालीन बैठकमा बोलाएको हो । विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘चीनका सहायक विदेशन्त्री हुआ चुनयिंगले जापानका राजदूत शुई हिदेओसँग भएको भेटमा सिन्जो आबोको अभिव्यक्तिलाई गलत र चीन जापान सम्बन्धका मापदण्डको उल्लंघन भनेकी छन् ।’
सिन्जोको अभिव्यक्तिबारे चीनको विदेश मन्त्रालयले चिनियाँ सम्प्रभुतामाथिको चुनौती र स्वतन्त्र ताइवानको कुरा गर्नेहरूमाथिको निर्लज्ज समर्थन रहेको बताएको छ । चीनले यस्तो अभिव्यक्तिको कडा विरोध गर्ने वक्तव्यमा उल्लेख छ ।
जापानका पूर्वप्रधानमन्त्री सिन्जाले बुधबार ताइवानबारेको एक थिङ्क ट्यांकको भर्चुअल कार्यक्रममा चीनले यदि ताइवानमाथि हमला गरे अमेरिकासँगै जापानले पनि प्रतिवाद गर्ने बताएका थिए । उनले ताइवानमाथिको हमला जापानको सुरक्षाका लागि गम्भीर खतरा रहने बताएका थिए ।
सिन्जोले अघिल्लो वर्ष जापानको प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका नेता हुन् र पार्टीमा अहिले पनि उनको प्रभाव बलियो छ ।
