२१ मंसिर, काठमाडाैँ ।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले सरकारी नियामक निकायले सेयर बजारलाई लगाम लगाउने नीति अंगाल्दा बजार निरन्तर गिरावट आएको बताएकी छन् । सोमबार नेपाल न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अध्यक्ष पोखरेलले नियामक निकायहरुले सेयर घटिरहेको अवस्थामा केही नबोल्ने तर,सेयर बजारले एउटा उचाई लिएपछि बजारलाई लगाम लगाउने हिसाबले नीति अंगाल्न थालेको बताइन् ।
उनले सेयर बजार नियामक निकायहरुले सेयर बजार बढी रहेको अवस्थामा जसरी हुन्छ बजारलाई लगाम लगाउने गरी पछिल्ला नीतिहरु ल्याउने गरेको बताइन्। सेयर बजार ३२ सय बिन्दुमा पुग्दै गर्दा नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नामै किटान गरेर सार्वजनिक गर्न, मौद्रिक नीतिमा सेयर बजारका लागि कडाइ गर्नु नियामक निकायहरुको सेयर बजार प्रतिको नकारात्मक सोच भएको पोखरेलले आरोप लगाइन् । उनले भनिन्,‘ सरकारका सेयर बजार नियामक निकायहरुले पुँजीबजारलाई लगाम लगाउने हिसाबले अगाडि बढेका छन्। शेयर बजार एउटा गतिमा दौडिरहेको अवस्थामा नियामक निकायहरुले बजारलाई प्रभावित गर्ने गरी नयाँ नीति ल्याउँदा लगानीकर्तामा निराशा छाएको छ । नेपाल धितोपत्र बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गर्दा थप बजार प्रभावित भयो थिया। त्यसपछि चालु आर्थिक वर्षको नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा एउटा लगानीकर्ताले शेयर बजारमा लगानी गर्दा एउटा बैंकबाट ४ करोड र तीन वटासम्म १२ करोडको सिमा तोकिएको कारण शेयर बजारमा निराशा छ । यस्तो अवस्थामा जबसम्म बजारमा पैसा आउँदैन तब सम्म बजार घट्दै जान्छ । तर,मौद्रिक नीतीमा व्यवस्था भएको नयाँ नीति तीन महिनामा संशोधन गर्ने लगानीकर्तालाई बचन दिएको थियो । तर, मौद्रिक नीतिको समिक्षामा पनि नीति संशोधन नगरेकाले लगानीकतामा निराशा छाउँदा बजार गिरावट आएको छ। शेयर बजार सेन्सेटिभ मार्केट भएकाले घटबढ भइरहनुपर्छ । तर नियामक निकायले बनाउने नीतिले शेयर बजार घट्ने र बढ्ने हुनुहुँदैन । नियामक निकायले शेयर बजारमा भएको विकृति विसङ्गतिलाई रोक्नुपर्छ । तर शेयर बजारलाई रोक्नु हुदैन्। अहिले बजारमा तरलताको समस्या छ । यो समस्या सरकारले ल्याएको बजेट खर्च नगरेर राज्यको ढुकुटीमा थन्केर बसेकाले पनि सिर्जना भएको हो । यो विषयमा अर्थ मन्त्रीको बजेट खर्च गर्ने कुरामा केही चासोसमेत देखाउनु भएको छैन । यस्था विविधि कारणले गर्दा शयेर बजारको भविष्य अन्योलमा रहेको छ । पछिल्लो तीन महिनाको अवधिमा शेयर लगानीकर्ताको २० पतिशत नोक्सानी भएको छ । यहि अवस्था तीन वर्षसम्म रहेमा लगानीकर्ताको शेयर बजारमा १० प्रतिशत लगानी पनि रहँदैन।’
लगानीकर्ता घट्दा पनि सेयरमा असर
अध्यक्ष पोखरलेले कोरोना महामारीको समयमा सबै क्षेत्र बन्द भएको अवस्थामा धेरै नयाँ लगानीकर्ता सेयर बजारमा प्रवेश गरेको तर पछिल्लो समय नयाँ लगानीकर्ता आफ्नो पुरानै व्यवसायमा फर्किएकाले बजार गिरावट भएको बताइन् । उनले कोरोना महामारी सुरु हुने बेला १८ लाख लगानीकर्ता रहेकोमा अहिले बढेर ४६ लाख पुगेको बताइन् । अध्यक्ष पोखरेलले पछिल्लो समय विस्तारै बन्द रहेका उद्योग व्यवसाय खुल्दै जाँदा मुलुकको अर्थतन्त्र पनि विस्तारै चलायमान हुदै गएको बताइन ।
