७ पुस, एजेन्सी ।
अफगानिस्तानको काबुलमा मुलुकको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्न माग गर्दै सयौं मानिसले प्रदर्शन गरेका छन्।
मंगलबार यसअघि अमेरिकी दूतावास रहेको स्थानमा सयौंले प्रदर्शन गरेका हुन्। उनीहरुले ‘खान देऊ’ ‘हाम्रो रोक्का गरिएको रकम देऊ’जस्ता नारा लगाएका थिए।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले प्रदर्शनमा सुरक्षा प्रदान गरेको थियो। अफगानिस्तानमा तालिबानले कब्जा जमाएसँगै अर्बौं डलर अमेरिका तथा अन्य मुलुकमा रोक्का भएर बसेको छ। जसको कारण अफगानिस्तानमा अहिले आर्थिक संकट देखिएको छ।
अफगानिस्तानका कर्मचारी, डाक्टरहरु र शिक्षकहरुले पनि केही महिनादेखिको तलब पाएका छैनन्। बैंकहरुले खातावालाहरुलाई एकैपटक धेरै रकम निकाल्न दिएका छैनन्।
पाकिस्तानले अफगानिस्तानको आर्थिक संकट बढ्दै गए यसले गम्भीर समस्या उत्पन्न हुनसक्ने चेतावनी दिएको छ। पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानको नेतृत्वसँग वार्ताको लागि आग्रह गरेको छ।
