२४ पुस, विराटनगर ।
सरकारले कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र निर्देशक समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो निर्देशन दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले पनि मुलुकमा उपलब्ध तथ्यांकका आधारमा ओमिक्रोनका कारण अत्यधिक बिरामी बढ्न सक्ने सम्भावना रहेकाले सबैलाई सजग रहन आग्रह गरेका छन् । बैठकले ओमिक्रोन भेरिएन्टका कारण हुन सक्ने चापलाई मध्यनजर गर्दै देशभरको स्वास्थ्य जनशक्तिलाई तयारी अवस्थामा राख्ने, अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन चुस्तदुरुस्त राख्ने निर्णय गरेको छ ।
परीक्षणलाई थप सशक्त बढाउने तथा पोजिटिभ आएकालाई आइसोलेसनमा राख्ने व्यवस्था मिलाउने र भारतबाट प्रवेश गर्ने नाकाहरूमा अझै कडाइ, आइसोलेसन र होल्डिङ सेन्टरहरू व्यवस्थित गर्नेलगायत निर्णय भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री विरोध खतिवडाले खोप लगाउने अभियानलाई तीव्रता दिने बताए ।
मुलुकमा थप २४ जनामा ओमिक्रोन भेरिएन्ट पुष्टि भएको छ । यसअघि तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।