२९ पुस, चितवन ।
कोरोनाको तेस्रो लहर सुरु हुँदासमेत अल्पसङ्ख्यक समुदायका रुपमा रहेको चेपाङ समुदाय खोप लगाउन मान्दैनन् ।
जिल्लामा बसोबास गर्ने चेपाङ समुदायले खासै कोभिड खोपमा चासो नदिने गरेको पाइएको छ । जिल्लाका सात पालिकामध्ये छ पालिकामा चेपाङ समुदायको बसोबास छ ।
जिल्लाको इच्छाकामना गाउँपालिका तथा कालीका, राप्ती, खैरहनी, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चेपाङको बसोबास रहेको छ । यी पालिकामा २०६८ सालको जनगणनाअनुसार २८ हजार ९८९ चेपाङको बसोबास रहेको छ ।
त्यसमध्ये अहिलेसम्म छ हजार ३२७ अर्थात २१ दशमलव ८२ प्रतिशत चेपाङले कोरोनाविरुद्धको खोप लगाएका छन् । जिल्लामा रहेका सात पालिकामध्ये राप्तीमा दुई हजार ७०० चेपाङले खोप लगाएका छन् ।
राप्ती नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार वडा नम्बर १०, ११, १२ र १३ मा चेपाङ समुदायको बाहुल्यता छ । ती वडामा ९० प्रतिशत चेपाङ समुदायको बसोबास रहेको र ती वडामा १८ वर्षमाथिका मात्र आठ हजारले खोप लगाउनुपर्ने हो ।
चेपाङ समुदायमा सानो उमेरमा नै विवाह गर्ने परिपाटिका कारण खोप लगाउनेको सङ्ख्या कम भएको हुनसक्ने उनको भनाइ छ । अठार वर्षमुनिका बालबालिकालाई खोप लगाउँदा कस्तो परिणाम आउँछ त्यसमा भर पर्ने उनले बताए ।
उनले भने, यस समुदायमा सानो उमेरमा नै विवाह गर्ने प्रचलन छ, १८ वर्षमुनिकालाई खोप लगाउने क्रममा कस्तो सहभागिता रहन्छ हेरौँ ।
कालीका नगरपालिकामा तीन हजार ८९ चेपाङ समुदायले खोप लगाएका छन् । यस पालिकाको वडा नम्बर ९, १० र ११ मा चेपाङ समुदायको बसोबास छ । यहाँ पहाडी क्षेत्र र खोप केन्द्रभन्दा टाढा बसोबास भएका केन्द्रसम्म आउनसमेत नखोजेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार पालिकामा रहेका चेपाङ समुदायले खोप किन आवश्यक पर्छ भन्नेजस्ता कुराहरु गर्ने गरेका छन् । उनले भे, पहाडी क्षेत्रमा बसोबास गर्नेले कहीँ जानु छैन भन्दै खोप लगाउन नमान्ने गरेका छन् ।
यस्तै इच्छाकामना गाउँपालिकाको सबैजसो वडामा चेपाङ समुदायको बसोबास रहेको छ । विशेष गरी वडा नम्बर १, २ र ६ मा चेपाङ समुदायको बसोबास छ । ती बसोबास रहेको क्षेत्रबाट दुई हजार ३५० ले कोरोनाको खोप लगाएका छन् ।
यस पालिकामा १८ हजारभन्दा बढीले खोप लगाएको स्वास्थ्य शाखा प्रमुख वासुदेव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार उमेरअनुसार खोप लगाउने क्रममा अब सङ्ख्या बढ्ने छ । चेपाङ समुदायको बस्ती विकटमा हुने र त्यस क्षेत्रबाट खोप केन्द्रसम्म आउनसमेत नखोज्ने गरेका कारण सङ्ख्या कम भएको हो ।
यस्तै खैरहनी नगरपालिकामा ३५० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । पालिकाका स्वास्थ्य शाखा प्रमुख अनुप अधिकारीका अनुसार यस पालिकामा रहेका ८५ प्रतिशतले खोप लगाएकामा यस सङ्ख्यामा चेपाङ समुदाय रहेको बताए । यस पालिकामा खासै नगन्य सङ्ख्यामा मात्रै यस समुदायका बासिन्दाको बसोबास रहेको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा बसोबास गर्ने ती समुदायका व्यक्तिमध्ये १७४ ले कोरोनाविरुद्धको खोप लगाएका छन् । वडामा रहेका रातोमाटे, चिप्लेटी र किपट क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदाय खोपमा सहभागी हुन नसकेको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।
टोलटोलमा शिविर सञ्चालन गर्दासमेत उनीहरु सहभागी नभएको सकेको कार्यालयले जनाएको छ । महाशाखा प्रमुख दीपक सुवेदीका अनुसार महानगर क्षेत्रमा चेपाङको सङ्ख्या ठूलो छैन । उनीहरुको बसोबास रहेको वडा नम्बर २९ को पहाडी क्षेत्र हो ।
माडी नगरपालिका वडा नम्बर ८ र ९ मा चेपाङ समुदायको बसोबास रहेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख भोजराज खनालका अनुसार माडीमा १३० चेपाङ समुदायका व्यक्तिले खोप लगाएका छन् ।
छरिएर रहेको यस समुदायमा सूचनाको अभाव वा बेवास्ता गरेका कारण खोप लगाउन आउनेको सङ्ख्या कम भएको हो । उनले भने, चेपाङको बसोबास बढी सङ्ख्यामा बाँदरझुला क्षेत्रमा रहेको र आउ जाउमा कठिनाइ भएका कारण यस खोपबाट वञ्चित भएका हुन सक्छन् ।
चेपाङ सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष गोविन्द चेपाङ कोभिड खोपमा यस समुदायको सहभागिता न्यून रहेको बताउछन् । उनले भने, कोभिडको विषयमा गलत प्रचार भएकाले थोरैले मात्रै खोप लगाएका छन् । कोरोना खोप लगाएपछि प्रजननमा समस्या हुने डर चेपाङमा देखिएको उने बताए ।
कोरोना खोपका लागि चेपाङ भाषामा नै लेखिएको सन्देश प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए । २०६८ सालको जनगणनाअनुसार नेपालमा ६८ हजार ३९९ चेपाङको बसोबास रहेको छ । विशेष गरी चितवन, मकवानपुर, धादिङ, गोरखा, लमजुङ, तनहुँलगायत जिल्लामा चेपाङ बसोबास गर्दै आएका छन् ।
चेपाङ सङ्घ चितवनका अध्यक्ष भीमबहादुर चेपाङले डाँडाकाँडामा बसोबास गर्ने भएकाले खोप लगाउन आउने अवस्था नभएको बताए । खोप केन्द्र आसपास बसोबास गर्नेहरुले मात्रै खोप लगाएको जनाउँदै उनले कोरोना खोपका बारेमा सूचना सम्प्रेषण प्रभावकारी बनाउन सरोकारवालालाई आग्रह गरिएको बताए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले चेपाङ समुदायमा कोरोनाको विषयमा विभिन्न किसिमका नकारात्मक हल्ला चलाइएका कारण समस्या रहेको बताए । यो समुदाय बजारको जनजीवनसँग प्रत्यक्षरुपमा सम्पर्कमा नआउने भएकाले पनि सङ्ख्यामा कमी आएको हुनसक्ने उनको अनुमान छ ।
स्वास्थ्य कार्यालयले खोपको व्यवस्थापन मात्रै गर्ने भएकाले स्थानीय पालिकाले प्रचारप्रसारमा जोड दिनु आवश्यक रहेको उनको भनाइ छ । तिवारीले भने, हरेक वडामा स्वास्थ्य संस्थामार्फत खोपको व्यवस्थापन गरिएको छ, केन्द्रसम्म आउन नचाहानु समुदायको कमजोरी हो ।
कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म तीन लाख ७० हजार ५४४ ले खोप लगाएका छन् । पहिलो मात्रा लगाएकामध्ये तीन लाख २० हजार नौले पूर्ण मात्रामा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तिवारीका अनुसार पहिलो मात्रा कोभिसिल्ड ४० हजार ४४३ ले, भेरोसेल दुई लाख ३७ हजार ६०२ ले, एष्ट्राजेनेका ५१ हजार ९६२ ले, फाइजर बायोएनटेक एक हजार ८६७ ले र जोन्सन ३८ हजार ६७० ले लगाएका छन्।
यसैगरी पूर्ण मात्रा खोप कोभिसिल्डरएस्ट्राजेनिका ८२ हजार ८५३ ले, भेरोसेल एक लाख ९६ हजार ७२९ ले, जोन्सन ३८ हजार ६७० जले र फाइजर बायोएनटेक एक हजार ७५७ ले लगाएका छन् ।
पहिलो मात्रा लगाएका तर दोस्रो मात्रा लगाउने समय भइनसकेको सङ्ख्या २० हजार हाराहारी रहेको छ ।(रासस)