२९ पुस, एजेन्सी ।
अफगानिस्तानको तालिबान सरकारका उपप्रधानमन्त्री अब्दुल सलाम हनफीले देशभित्र हुने मानवीय सहयोग आफूहरूसँगको तालमेलका आधारमा हुनुपर्ने बताएका छन् ।
उनले अफगानिस्तानका कर्मचारीहरूलाई मानवीय सहयोगको कार्यक्रममा सहभागी गराइनुपर्ने बताए । बुधबार काबुलमा भएको एक सभामा उनले भने, अन्तर्राष्ट्रिय सहयोग गरिबी, भोकमरी र आर्थिक संकटबाट मुक्त हुने स्थायी समाधान हैन ।
हाम्रो चाहना सरकार र अन्तर्राष्ट्रिय समुदाय मिलेर आर्थिक गतिविधि बढाउनेतर्फ छ । उनले सहायताको वितरण पारदर्शी हुनुपर्ने पनि बताए । मंगलबार अमेरिकाले अफगानिस्तानमा ३०.८ करोड डलर आर्थिक सहायता दिन तयार रहेको घोषणा गरेको थियो ।
तर यो सहायताका लागि तालिबानले राहत कार्यमा जुट्ने सबै कर्मचारीलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने सर्त अमेरिकाले राखेको छ । यसअघि संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा गहिरिँदै गएको मानवीय संकटलाई मध्यनजर गर्दै उसका लागि ५ अर्ब डलरको आपतकालीन सहयोगका लागि विश्व समुदायलाई आग्रह गरेको थियो ।
गतवर्षको अगष्टमा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानलाई अमेरिकाबाट प्राप्त भइरहेको आर्थिक सहायता बन्द भएको थियो । साथै अफगानिस्तानमाथि थुप्रै किसिमका आर्थिक प्रतिबन्ध लगाइएका थिए ।
अहिले विदेशी सहयोगमा निर्भर रहेको अफगानिस्तानका लागि अस्पताल, विद्यालय, तथा सरकारी कार्यालय सञ्चालन गर्न समेत मुस्किल भइरहेको छ भने नागरिकहरू भोकमरीको शिकार भइरहेका छन् । रेडक्रसले अफगानिस्तानमा नर्क जस्तै हालत रहेको भन्दै लामो समयदेखि सहयोगको अपिल गरिरहेको छ ।
