१३ फागुन, एजेन्सी । कोरोना महामारी साम्य हुँदै गएपछि कतारले फागुन १६ गते अर्थात् फेब्रुअरी २८ देखि लागू हुने गरी कतार यात्रा गर्ने यात्रुहरूका लागि स्वास्थ्यका मापदण्डमा परिमार्जन गर्ने भएको छ ।
परिमार्जित मापदण्ड अनुसार खोपको मात्रा पुरा लगाएका कतारी नागरिक र कतारमा बसोबास गर्नेहरूले यात्रा गर्नुअघि पीसीआर परीक्षण गर्नु पर्ने र त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्नु पर्ने नियम हटाएको छ ।
कतार सरकारको नयाँ नियम रातो र हरियो सूचीमा भएका दुवै देशबाट यात्रा गर्नेहरूका लागि लागू हुने छ ।
नेपालसहित बङ्गलादेश, भारत, इजिप्ट, जर्जिया, जोर्डन, पाकिस्तान, फिलिपिन्स र श्रीलंकालाई कतारले अहिले रातो सूचीमा राखेको छ ।
रातो सूचीमा परेका देशबाट यात्रा गर्ने कतारी र अन्य नागरिकले यदि खोपको मात्रा पूरा लगाएका छन् या कोरोना निको भएका छन् भने त्यहाँ पुगेपछि क्वरेण्टीनमा बस्न पर्ने छैन । तर यदि खोपको मात्र पूरा लगाएको छैन या प्रतिरक्षा प्रणालीको विकास भएको छैन भने पाँच दिन होम आइसोलेसनमा बस्न पर्नेछ ।
उनीहरूले प्रस्थान पूर्व गर्नु पर्ने पीसीआर परीक्षण अनिवार्य गर्नु पर्नेछ । कोरोनाको खोप लगाएकाहरूले पनि कतार पुगेको २४ घण्टाभित्र –यापीड एन्टिजेन परीक्षण भने गर्नु पर्नेछ ।
खोप नलगाएकाहरुले भने कतार पुगेको पहिलो दिनमा पीसीआर परीक्षण र ५ औं दिनमा –यापीड एन्टिजेन परीक्षण गर्न पर्नेछ ।
कतारमा भिजिटरको रूपमा जानेहरूले भने खोपको मात्रा पूरा लगाएको भए पनि एक दिन होटल क्वरेण्टीनमा बस्न पर्ने छ । तर खोप नलगाएका भिजिटरलाई भने कतारले प्रवेश अनुमति दिने छैन ।
तर खाडी राष्ट्रका नागरिक भने पाँच दिन क्वरेण्टीनमा बस्ने सर्तमा कतार प्रवेशको अनुमति पाउनेछन् ।
भिजिटरको रूपमा जाने सबै यात्रुले प्रस्थान पूर्व पीसीआर परीक्षण गर्न पर्ने छ ।