काठमाडौं, २८ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकट उन्मुख देखिए पनि श्रीलंका नै हुने अवस्थामा नरहेको बताएका छन्। उनले अब पनि सरकार र सरोकारवाला चनाखो नबनेमा भने खराब स्थितिमा पुग्ने बताए ।
‘हामी अपारदर्शितालाई महत्त्व दिन खोजिरहेका छौँ। हामी अल्पकालीन नीतिमा अलमलिइरहेका छौँ। त्यसले मध्यम र दीर्घकालीन संकट निम्त्याइरहेको छ। श्रीलंका जस्तै हुन लागेकाले एकपछि अर्को यस्ता कदम आइरहेका हुन् कि भन्ने सर्वसाधारण र उद्यमीहरूको बुझाइ छ।’
नेपाल उद्योग वाणिज्य महासंघको ५६ औँ वार्षिक साधरणसभामा अध्यक्ष गोल्छाले भने, ‘श्रीलंका जस्तो हुँदैन । तर, अहिलेदेखि नै चनाखो भएनौँ भने केही वर्षपछि हामी खराब अवस्थामा पुग्नेछौँ’ ।
अध्यक्ष गोल्छाले कोभिडपछि खस्किएको अर्थतन्त्र मजबुत हुन नसकेको अवस्थामा पुनराेत्थानको कार्यक्रमलाई अझै अघि बढाउनुपर्ने बताए । उनले ऊर्जामा निर्यातको योजना बाँडिरहेको अवस्थामा उद्योगमा विद्युत कटौती गरिएको सन्दर्भ कोट्याउदै विद्युत खरिद सम्झौता खोल्नका लागि आग्रह गरे ।
‘कोभिडपछिको पुनरोत्थानका लागि अझै बिर्सन मिल्दैन । साना उद्यमी, पर्यटन एवं मनोरञ्जन क्षेत्रलाई अझै सहयोग चाहिएको छ। जलविद्युतमा विशेष ध्यान दिनुपर्ने आवश्यकता छ’, गोल्छाले भने, ‘लामो समयदेखि रोकिएको विद्युत खरिद सम्झौता खोल्नुपर्छ ।’
