Nepal Times
Nepal Times
3
Shares

रुपन्देहीका ६३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

रुपन्देहीका ६३ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा

२९ चैत, रुपन्देही । रुपन्देहीका ६३ मतदानस्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलका अनुसार भारतसँग सीमा जोडिएका, भौगोलिक अवस्था र विगतका चुनावमा भएका गतिविधिका आधारमा सुरक्षा संवेदनशीलताको सूची तयारी गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको संवेदनशीलतालाई ध्यानमा राख्दै विश्लेषण र मूल्याङ्कनका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा वर्गीकरण गरेको हो।

रुपन्देहीमा २०८ मतदानस्थलहरु कायम गरिएका छन् । तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसको लागि विवरण सङ्कलन गर्ने कार्य भइरहेको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।

रुपन्देहीमा ६ लाख ३२ हजार मतदाता रहेका छन् । २०७४ सालको चुनावको तुलनामा करिब १ लाख मतदाता रुपन्देहीमा थपिएका छन् । रुपन्देहीमा राष्ट्रिय मान्यता प्राप्त ६ सहित ३८ दलले पालिकाको चुनावमा प्रतिस्पर्धा गर्ने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले बताए ।

१६ पालिका रहेको रुपन्देहीमा अघिल्लो पालिकाको चुनावमा एमाले सबैभन्दा ठूलो दलको रुपमा स्थापित भएको थियो । अहिले भने एमालेलाई चुनौती दिन सत्तारुढ दलले गठबन्धन बनाएका छन् ।

गठबन्धनको बैठकले लुम्बिनी प्रदेश भित्रका १०९ पालिकामा गठबन्धन बाहेकका दलकाबीचमा चुनावी तालमेल गर्न नपाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनलाई व्यवस्थित र मर्यादित बनाउँदै सफल बनाउने दायित्व आबद्ध सबै दलको रहेको बताए । प्रमुख विपक्षी दल एमालेले केहीदिन भित्रै उम्मेदवारको टुङ्गो लगाउने तयारी गरेको छ ।

वडा र पालिकास्तरबाट सिफारिस भएर आएका उम्मेदवार मध्येबाट टिकटको टुङ्गो लगाइने एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.