३० साउन,एजेन्सी ।
रुस–युक्रेन युद्धका कारण लामो समयदेखि विश्वले नै भारी मूल्यवृद्धिको सामना गरिरहेको छ । श्रीलंकामा मूल्यवृद्धि आकाशिँदा देशको सञ्चितीले धान्न नसकेपछि देशनै टाँट पल्टिएको थियो । विश्वका अन्य धेरै मुलुकमा जस्तै रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वव्यापी रूपमा बढिरहेको इन्धनको मूल्यबाट बंगलादेश पनि प्रभावित भएको छ ।
तीव्र गतिमा अर्थतन्त्र विस्तार भइरहेको देशमध्ये पर्ने बंगलादेशमा एक सातामा इन्धनको मूल्य ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । तेलको बढ्दो मूल्यको कारण युक्रेनमा जारी युद्ध भएको बंगलादेशको सरकारले जनाएको छ । बढ्दो महँगीले हजारौँ मानिसहरू सडकमा प्रदर्शनमा उत्रिएका छन् ।
प्रदर्शनकै क्रममा उनीहरुले सडक अवरुद्ध गर्नुका साथै ठाउँठाउँमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । बंगलादेशमा अनपेक्षित रूपमा वृद्धि भएको इन्धनको मूल्यका कारण ८६ टाका अर्थात ११५ रुपैयाँ २९ पैसा नेपाली रुपैयाँ प्रतिलिटरमा पाइने पेट्रोल १३० टाका अर्थात १७४ रुपैयाँ २७ पैसा नेपाली रुपैयाँ पुगेको छ । त्यसैगरी त्यहाँ डिजेल र मट्टितेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाईएको छ ।
प्रदर्शनकाबीच बंगलादेशका ऊर्जामन्त्री नसरुल हमिदले मूल्यवृद्धि उच्च भएको तर विदेशमै इन्धनको मूल्य बढेपछि यसमा आफ्नो मुलुकले केही गर्न नसक्ने बताएका छन् । सरकारले आर्थिक अव्यवस्था निम्त्याएको भन्ने आरोप अस्वीकार गर्दै उनले भने विगतमा मूल्यवृद्धि नियन्त्रणका लागि सरकारले अनुदान दिएको तर अहिले मूल्य बढाउनुको विकल्प नभएको बताए ।
गत हप्ता मूल्यवृद्धिको घोषणा गरिएपछि हजारौँ मानिसहरूले पेट्रोल पम्पबाहिर देशभरि प्रदर्शन गरेका थिए । श्रीलङ्काको झल्को दिएको उक्त प्रदर्शनका क्रममा मूल्यवृद्धि फिर्ता लिन माग गरिएको थियो। बङ्ग्लादेशमा अहिले छिटपुट प्रदर्शनहरू भइरहेका छन् तर आक्रोश र आवेगको भावना बढिरहेको छ।
इन्धनको चर्को मूल्यवृद्धिका कारण सार्वजनिक यातायातको शूल्क र बजारका सरसामानको मूल्य पनि बढेको छ । निरन्तर उकालो लागेको इन्धनको मूल्यले सर्वसाधारणहरुलाई दैनिक जीविकोपार्जन गर्न कठिन भइरहेको भन्दै रोजगारी गुमे सडकमा माग्न थाल्नुपर्ने स्थिती आउन सक्ने भन्दै मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत छन् । बंगलादेशमा झन्डै १६ करोड ८० लाख जनसङ्ख्या रहेको छ ।