२२ भदौ , काठमाण्डौ ।
नवलपरासी (पूर्व)का केही स्थानमा पछिल्लो केही घण्टा भारी वर्षा भएको छ । दुम्कौली, डण्डा, अरुण खोला र आसपासका क्षेत्रमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्र भई बहने स–साना नदीहरुमा बहाव बढ्ने हुँदा यात्रामा निस्कनेहरुले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तै देशका विभिन्न भागमा बिहानैबाट पानी परिरहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
वर्षाका कारण नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ ।