Nepal Times
Nepal Times
3
Shares

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी कम्पनी टाट पल्टियो

विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी कम्पनी टाट पल्टियो

२७ कात्तिक,एजेन्सी ।
क्रिप्टोकरेन्सी एक्सचेन्ज(लेनदेन) कम्पनी एफटी एक्सले अमेरिकामा टाट पल्टिएको निवेदन दायर गरेको छ । कम्पनीले अदालतसँग सुरक्षा माग्दै आफूले ग्राहकहरूको पैसा फिर्ता गर्ने उपाय खोजिरहेको बताएको छ ।

यो घोषणासँगै एफटी एक्सका प्रमुख कार्यकारी अधिकृत स्याम बैंक म्यान–फ्राइडले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । ३० वर्षीय स्यामले आफूले कम्पनीको स्थितिको कारण राजीनामा दिएको बताएका छन् ।

एक हप्ताको अन्तरमा एफटी एक्सको साम्राज्यको पतन भएपछि केही समयदेखि संकटमा गुज्रिरहेको क्रिप्टो बजारको विश्वास धर्मराएको छ । यसअघि ‘किङ्ग अफ क्रिप्टो (क्रिप्टोको राजा)’ पनि भनिने स्यामले ट्वीटरमा लेखेका छन्– ‘अहिलेको स्थितिको लागि म फेरि एकपटक माफी चाहन्छु ।

आशा छ परिस्थिति राम्रो हुँदै जानेछ । आशा छ कि हामीले प्रक्रियामा पारदर्शिता र विश्वास ल्याउन सक्छौं । जस्तो अवस्था आयो त्यसमा म पनि आश्चर्यचकित छु ।’ कम्पनीको पतन हुनुअघि, स्याम क्रिप्टो बजारका हस्ती मानिन्थे ।

१५ अर्ब डलर नजिकको सम्पति पुगेका स्यामको तुलना दिग्गज लगानीकर्ता वारेन बफेटसँग हुन थालेको थियो । एफटीएक्स लगायत स्यामको स्वामित्वमा रहेका अन्य व्यवसायमा वित्तीय समस्या आएको हल्लापछि एक्कैपटक ठूलो संख्यामा ग्राहकहरूले एफटी एक्सबाट पैसा निकाल्न प्रयास गर्दा यस्तो स्थिति आएको बताइन्छ ।

डिजिटल टोकनहरू किनबेचमा प्रयोग हुने एफटी एक्सको नगदको संकट उत्पन्नलाई समाधान गर्न स्यामले प्रयास गरे पनि त्यो सफल हुनसकेन ।

यसका कारण लाखौं ग्राहकहरूको पैसा एफटीएक्समा फसेको छ, जुन उनीहरू अहिले निकाल्न सकिरहेका छैनन् । टाट पल्टिएको आवेदन दिएपछि, कम्पनीले अदालतको निगरानीमा काम गर्नेछ र त्यस अन्तरालमा कम्पनीले उसका ऋण पुनर्संरचना गर्न सक्छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.