Nepal Times
Nepal Times
3
Shares

अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?

अध्यक्ष विजयी भएपनि माओवादी खुम्चियो /प्रचण्डले अब कस्तो रणनीति लेलान् ?

८ मंसिर, काठमाण्डौ ।
प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारी मतान्तरले विजयी भएका छन् । २६ हजार १ सय ३ मतसहित दाहाल विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटीले १२ हजार ६ सय ३७ मत ल्याएर पराजित बने ।

नेकपा एमालेका अब्दुस मिँयाले भने ७ हजार ३ सय ९३ मत प्राप्त गरेका छन् । गोरखा–२ मा ५४ हजार ३१ मत खसेको थियो । त्यसमध्ये ५० हजार ९ सय ७ सदर र ३ हजार १ सय २४ बदर भएको थियो । यसअघि गोरखा—२ मा उम्मेदवारी दिएलगत्तै प्रचण्डले माओवादी शक्तिशाली तेस्रो खेलाडी बन्ने बताएका थिए ।

उनी आफू विगतमा पनि किंग मेकर रहेको र यो चुनावपछि पनि किंग मेकर नै रहने दाबी गरेका थिए । यस्तै सकेसम्म प्रधानमन्त्री नै हुने सपना देखेका थिए । तर पछिल्लो मतपरिणामले उनलाई त्यो सपनाबाट ब्युँझ्याई दिएको छ । किनभने माओवादीलाई राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीको रूपमा देखा परेको छ ।

समानुपातिक मतमा माओवादीलाई स्वतन्त्र पार्टीले उछिन्ने संकेत देखिइसकेको छ । यी दुईको कुल संयोजनबाट झिनो सिटको फरकमा माओवादी तेस्रो हुन सक्ने देखिन्छ । तर, प्रचण्डको मनसायझैँ बलियो र रणनीतिक तेस्रो शक्ति चाहिँ बन्ने सम्भावना टुटेको देखिन्छ । त्यसलै उनको प्रधानमन्त्री बन्ने चाहना पनि सहजै पूरा हुने देखिँदैन ।

यसो हुँदा अब उनको रणनीति के हुनसक्छ भन्नेमा चासो छ । राजनीतिक विश्लेषकहरुका अनुसार अब प्रचण्ड केही विकल्पहरुका साथ अगाडि बढ्नेछन् । उनीहरुका अनुसार प्रचण्डसँग पहिलो र भरपर्दो विकल्प अहिलेको गठबन्धन कायम राख्ने नै हो । कांग्रेस, माओेवादी र एकीकृत समाजवादीको गठबन्धन कायम राख्न सक्दा निरन्तर सत्ताको अवसर कायम राख्न सकिन्छ ।

अहिलेसम्मको अवस्था हेर्दा सत्ता गठबन्धन बहुमतमा पुग्ने सम्भावना रहेको छ । तत्काल एमालेलाई प्रतिपक्षमा राख्ने अनि प्रदेश सरकारमा पनि सहभागी हुने अवस्था आउँदा शक्ति आर्जन सकिने रणनीति प्रचण्डले अख्तियार गर्न सक्छन् । प्रतिपक्षमा रहेको एमालेलाई दबाबमा राख्न सकियो भने वाम एकताको सम्भावना बढ्ने मनसायमा पनि प्रचण्ड हुन सक्छन् ।

आजै हार ब्यहोरेपछि पृथ्वीसुब्बा गुरुङलाई बधाई दिदै माओवादी महासचिव देव गुरुङले बाम एकताको लागि पहल गर्न सुझाव दिएका छन् । यसैगरि प्रचण्डले कांग्रेसबाट अपेक्षित भोट स्थानान्तरण नभएको तर्कसहित गठबन्धन फेर्ने प्रयास गर्न सक्छन् ।

त्यस्तो अवस्थामा एमाले र माओवादीको प्रयासमा गठबन्धन बन्न सक्छ । तर त्यसका लागि एमालेका अध्यक्ष केपी ओली तयार हुनुपर्नेछ । एमाले र माओवादीभित्रका वामगठबन्धन पक्षधर नेताहरूले यो प्रयास गर्न सक्छन् । सम्भावित नतिजाअनुसार एमाले र माओवादीमात्रै मिल्दा सरकार बन्ने स्थिति भने देखिँदैन ।

त्यसैले यो गठबन्धनमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका रणनीतिक हुनेछ । त्यस्तो अवस्थामा एकीकृत समाजवादी, जसपालाई समेत समेटिँदा एमाले माओवादीको सरकार बन्न सक्नेछ । तर प्रचण्ड र ओलीको बढ्दो दूरी त्यसको बाधक बन्न सक्छ ।

यसैगरि कांग्रेस र एमाले मिलेर सरकार बनाउने अवस्था आएमा माओवादी केन्द्र प्रतिपक्षमा रहनुपर्नेछ । प्रचण्डका लागि यो असहज विकल्प भने होइन । पार्टीलाई संगठित र बलियो बनाउन सक्रिय हुने भनेर प्रचण्ड स्वयंले प्रतिपक्षमा बस्ने निर्णय गर्न सक्छन् । त्यस्तो अवस्थामा पार्टीलाई संगठित गर्न सक्छन् वा पार्टी कार्यकर्तामा जारी निराशा र सम्भावित पहिरो रोक्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न चाहिँ गम्भीर रूपमा उठ्नेछ ।

प्रचण्डसंगै अहिलेसम्म माओवादीका ८ उम्मेदवारहरुले जित हासिल गरेका छन् । रुकुम पूर्व १ बाट पूर्णबहादुर घर्तीमगर, सिन्धुपाल्चोक १ बाट माधव सापकोटा,बाग्लुङ २ बाट देवेन्द्र पौडेल, सिन्धुली २ बाट लेखनाथ दाहाल, रोल्पा १ बाट वर्षमान पुन, जाजरकोट १ बाट शक्तिबहादुर बस्नेत, दाङ २ बाट रेखा शर्मा विजयी भएका छन् । यस्तै जनार्दन शर्मासहित अन्य ८ जनाले अग्रता कायम राखेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.