Nepal Times
Nepal Times
3
Shares

चुनावमा हारे पनि लाज नमान्ने थेत्तरा मन्त्रीहरु सरकारी खर्चमा विश्वकप हेर्न जाने

चुनावमा हारे पनि लाज नमान्ने थेत्तरा मन्त्रीहरु सरकारी खर्चमा विश्वकप हेर्न जाने

१२ मंसिर, काठमाण्डौ ।
एक वर्षअघिको मंसिर महिनामा सम्पन्न भएको नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्रीमा पराजित भएपछि तत्कालीन रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नैतिकताका लागि भन्दै पदबाट राजीनामा दिए । रिजाल पछिल्ला उदाहरण हुन, उनीभन्दा अघि नेपालमा नैतिकताका आधारमा राजीनामा दिने अरु पनि धेरै छन् ।

मिनेन्द्र रिजालले पार्टीको महाधिवेशनमा हार्दासमेत नैतिकता देखाएका थिए । तर अहिले संसदीय चुनावमा हार्दा पनि केही मन्त्रीहरुले भने नैतिकता देखाएर राजीनामा दिने त परै जाओस बरु उल्टै आफ्नो पदको अनैतिक लाभ उठाइरहेका छन् । अहिले सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् ।

गृहमन्त्री बालकृष्ण खाँण,ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ यो निर्वाचनमा पराजित भएका छन । तर आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भए पनि उनीहरूले बेवास्ता गरेका छन ।

उनीहरू जनताद्वारा अस्वीकृत भएका हुन् । जनताले नै अस्वीकार गरिसकेपछि पनि राजीनामा नदिनु चरम पदलोलुपता हो । तर न त प्रधानमन्त्री र न त सम्बन्धित दलले पनि मतदाताको सन्देशलाई कदर गर्न आवश्यक नै ठानेका देखन्छिन् ।

चुनाव हारेपनि गृहमन्त्री खाँण प्रधानमन्त्रीपछि दोस्रो वरीयतामा कायमै छन् । राजनीतिक शक्तिलाई परिवारमा केन्द्रित गरेको भनेर कार्यकर्ताको चर्को असन्तुष्टिबीच गृहमन्त्री खाँण पराजित भएका हुन । उनकी श्रीमती मञ्जु खाँण कांग्रेसको समानुपातिक सूचीमा खसआर्यतर्फ छैटौं नम्बरमा छिन । उनी सांसद बन्ने पक्कापक्की छ ।

गृहमन्त्रीका भाइ रामकृष्ण रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर छन । यता काठमाडौं ८ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका पर्यटनमन्त्री जीवनराम श्रेष्ठ राजीनामा दिनु त कता हो कता उल्टै नेपाल वायुसेवा निगमकै खर्चमा विश्वकप हेर्न दोहा जाने भएका छन् ।

चुनावमा हार व्यहोरेकाले नैतिकताका आधारमा पद छाड्न दबाब भइरहेका बेला मन्त्री विश्वकप हेर्न विदेश जान लागेका हुन् । निगमको भत्ता सुविधासँगै विजनेश क्लासमार्फत दोहा जान लागेको हुन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको अनुगमनमा जान भन्दै मन्त्री श्रेष्ठलाई दोहाको टिकट उपलब्ध गराउन पत्राचार गरिएको छ ।

यो भ्रमणमा उनले प्रयोग गरेको हवाई यातायात, खानपिन, बसाईँ लगायतको खर्च निगमको हुनेछ । यो उडानको दुईतर्फी भाडादर एक लाख ५० हजार रुपैयाँ रहेको बताइएको छ । यस्तै चुनावमा हार ब्योहोरेका अन्य मन्त्रीहरुले पनि नैतिकता के हो भन्ने नै विर्सिएका छन् । त्यसमाथि पूर्णतः कामचलाउ भइसकेको सरकारले नीतिगत निर्णय गर्न पनि मिल्दैन ।

यसैले मन्त्रीहरूविना कामकाज पनि रोकिँदैन । कर्मचारीले समेत यस्ता मन्त्रीहरुको आदेश पालन गर्न आलटाल गर्छन् । तर मन्त्रीहरु सबै लाज पचाएर कुर्सीमै टाँसिरहेका छन् । यद्यपी हार्नासाथ मन्त्रीहरुले राजीनामा दिनुपर्छ भनेर कुनै कानुनमा स्पष्ट लेखिएको छैन ।

तर नैतिक नियम भन्ने कुरा पदमा बसेकाहरुले पालना गर्नै पर्छ । साथै नेपालको संविधान कार्यान्वयनको प्राथमिक चरण भएकाले अहिले नैतिक मूल्यको सम्मान गर्ने परम्परा स्थापित भयो भने त्यसलाई उल्लङ्घन गर्ने आँट पछिकाले पनि गर्नेछैनन् । त्यसका लागि पनि चुनावमा हारेका मन्त्रीहरुले नैतिकता देखाउँन आवस्यक छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.