१३ मंसिर, काठमाण्डौ ।
मुस्ताङमा यस वर्ष ६ हजार ६०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । जसमध्ये ७० प्रतिशत अर्थात ४ हजार ४२० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । यो ५० करोडभन्दा धेरै मूल्य बराबरको स्याउ हो । भदौमा प्रतिकिलो एक सय रुपैयाँका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो एक सय २० देखि ३० भएको छ ।
सरदर प्रतिकिलो एक सय १० का दरले स्याउ बिक्री भएको कृषकले बताएको राष्ट्रिय समाचार समितिले लेखेको छ । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । कुल पाँच सय ८० हेक्टर जमिनमा लगाइएको स्याउ बोटले उत्पादन दिएको छ ।
मुस्ताङको पाँचवटै स्थानीय तहमा एक हजार चार सय ७५ हेक्टर जमिनमा स्याउखेती गरिएको छ । क्रप कटिङ सर्वेक्षण गर्दा जिल्लामा प्रतिहेक्टर ११.३७ मेट्रिक टन स्याउ उत्पादन हुने पाइएको प्रमुख बस्ताकोटीले बताए । यसैगरी मुस्ताङमा कुल स्याउ उत्पादनमध्ये यस वर्ष चार सय ४० मेट्रिक टन उच्च घनत्व प्रविधिमा आधारित स्याउको उत्पादन भएको छ ।
मुस्ताङमा ३८ हेक्टर जमिनमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती गरिएको छ । जसमध्ये २२ हेक्टरका बगैँचाले उत्पादन दिइरहेका छन् । यो स्याउ प्रतिहेक्टरमा लगाइएको बोटमा करिब २० टनसम्म उत्पादन हुने गरेको छ । नयाँ स्याउ बगैँचाका बोटबाट स्याउ उत्पादन सुरु हुन थालेको, किसानले बगैँचा व्यवस्थापनमा ध्यान दिन थालेको र स्याउका लागि अनुकूल मौसम भएकाले उत्पादनमा राम्रो भएको केन्द्रले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत नेत्र भट्टले बेमौसममा बिक्री गर्नका लागि मुस्ताङका विभिन्न छवटा चिस्यान गृहमा करिब ७० मेट्रिक टन स्याउ भण्डारण गरेर राखिएको बताए । फागुन–चैतको बेसिजनमा शीतभण्डारको स्याउ बजारमा पठाउँदा बढी मूल्य पार्न सकिने भएकाले भण्डारण गरेका हुन् ।
समुद्री सतहदेखि करिब दुई हजार पाँच सय मिटर अग्लो उचाइभन्दा माथि स्याउखेती गरिन्छ ।मुस्ताङको चिसो हावापानी र हिउँले सिञ्चित यहाँको स्याउ गुणस्तरीय तथा स्वादिलो हुने गर्छ । मुस्ताङका पाँचवटै स्थानीय तहमा स्थानीय रेडडेलिसिएस, रोयल डेलिसिएस, रिचारेड डेलिसिएस र गोल्डेन डेलिसिएस जातका स्याउखेती भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोन कार्यक्रमअन्तर्गत एक सय २५ वटा सहकारी÷समूह÷निजी फार्मका कार्यक्रम सञ्चालित छन् । त्याहा उत्पादित ८० प्रतिशत स्याउ विभिन्न सहरमा निकासी हुँदै आएको छ ।