२५ पौष, काठमाडौं ।
काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले काभ्रेपलान्चोकको तिनपिप्ले पााचखालमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । सोमबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट त्यस क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणले लाभ लिएका छन् ।
स्थानीय गाम्रीण महिला सहकारी पाँचखाल वडा नम्बर ६को आयोजना र काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा महिला सहकारीको कार्यालयमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ५ सय ९३ जनाको स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल म्यानेजर नारायण दाहालले बताएका छन् ।
उनका अनुसार उक्त स्वास्थ्य शिविरमा ८९ जनाको इसिजी, १६४ जनाको ल्याब परीक्षण तथा १२४ जनाको भिडियो एक्स–रे गरिएको छ । शिविरबाट ९ जनाको दाँत खोलिएको थियो । त्यस्तै,१९ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको दाहालले जानकारी दिए ।
स्वास्थ्य शिविरमा स्त्री रोग, बाल रोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, हाडजोर्नी लगायतका चिकित्सकहरुले बिरामीको जाँच गरेका थिए । स्वास्थ्य शिविरमा आएका बिरामीहरु केएमसीमा उपचारका लागि गएमा ओ.टी, ल्याब तथा वेड चार्जहरुमा आवश्यक छुट गर्ने गरिएको छ । केएमसीले आगामी दिनमा पनि निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई निरन्तरता दिने जेनेरल म्यानेजर दाहालले जानकारी दिएका छन् । केएमसीका तत्कालीन कार्यकारी अध्यक्ष तथा अहिलेका प्रतिनिधिसभा सदस्य डा. सुनिल शर्माले अस्पतालको स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच पुर्याउन निःशुल्क स्वास्थ्य शिविरको सुरुवात गरेका थिए । डा। शर्मा ले सुरु गरेको सोही निःशुल्क स्वास्थ्य शिविरको अभियानलाई केएमसीले निरन्तरता दिदै आएको छ ।