Nepal Times
Nepal Times
3
Shares

मंसिर ४ को चुनावमा कुन दलले कति खर्च गरे ? नेकपा एसको खर्च सबैभन्दा बढी

मंसिर ४ को चुनावमा कुन दलले कति खर्च गरे ? नेकपा एसको खर्च सबैभन्दा बढी

१० माघ, काठमाण्डौ ।
गएको मंसिर ४ को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रतिनिधि सभा तर्फ समानुपातिक निर्वाचन प्रणालीतर्फ ‘थ्रेसहोल्ड’ कटाउन नसकेर राष्ट्रिय दलबन्नबाट बन्चित हुदै समानुपातिक सिट समेत गुमाएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा भने सबैभन्दा बढी खर्च गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुशार प्रतिनिधि सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका ४७ वटै दलले खर्च विवरण बुझाएका छन् । स्थानीय निर्वाचनमा खर्च विवरण नबुझाउने एक लाख २३ हजार उम्मेदवारलाई आयोगले कारबाहीको दायरामा ल्याएपछि राजनीतिक दलले समयसीमाभित्रै खर्च विवरण बुझाएका हुन् ।

आयोगमा बुझाइएको विवरणअनुसार नेकपा एकीकृत समाजवादीले सबैभन्दा बढी समानुपातिकतर्फको निर्वाचन प्रचार प्रसारमा एक करोड ९० लाख ८९ हजार पाँच सय रुपैयाँ खर्च गरेको छ । समानुपातिकतर्फको ‘थ्रेसहोल्ड’ पूरा गर्न सो दललाई करिब पाँच हजार मत अपुग भएको थियो ।

सो दलले समानुपातिकतर्फको ११० सिटमध्ये १०४ सिटमा उम्मेदवारी दिएको थियो । जसबमोजिम एकीकृत समाजवादीले समानुपातिकतर्फ दुई करोड आठ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकिएको थियो । समानुपातिक निर्वाचन प्रणालीमा ५५ राजनीतिक दलले भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

जसमध्ये आठवटा दलले बन्दसूची पेस गरेनन् । बन्दसूची पेस नगर्ने र उम्मेदवारै नहुने दलले खर्च विवरण बुझाउन नपर्ने व्यवस्था छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो सबैभन्दा बढी खर्च गरेको छ । सो दलले १०६ सिटमा उम्मेदवारी दिएकोमा एक करोड ८९ लाख खर्च भएको विवरण आयोगमा बुझाएको छ ।

नेपाली कांग्रेसले एक करोड ५५ लाख ३२ हजार ५७८ रुपियाँ खर्च भएको विवरण बुझाएको हो । नेकपा एमालेले एक करोड ३३ लाख २६ हजार ६९३ रुपियाँ ४५ पैसा खर्च गरेको छ । आयोगका अनुसार समानुपातिकतर्फ सिट जितेर सबैभन्दा कम खर्च गरेको दल जनमत पार्टी हो । सो दलले बुझाएको विवरणबमोजिम उसले समानुपातिकतर्फ तीन लाख ८८ हजार रुपैयाँ खर्च गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ लाख ८६ हजार २२५ रुपियाँ र जनता समाजवादी पार्टी, नेपालले ३५ लाख रुपियाँ खर्च भएको विवरण आयोगमा बुझाएको छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ राजनीतिक दलले गरेको खर्च विवरण बुझाउन माघ ३ गतेसम्मको समयसीमा तोकेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.