२८ माघ, एजेन्सी ।
विश्वमान चित्रमा उत्तर कोरिया एक यस्तो देश हो जो रहस्य नै रहस्यले भरिएको छ । एकातिर अत्याधुनिक क्षेप्यास्त्र प्रहारदेखि विशाल सैन्य परेड तथा शक्ति राष्ट्रहरुलाई चेतावनीको शैलीमा बक्तब्यवाजी दिएर उत्तरले विश्वलाई आफ्नो तागत र दृढताको प्रदर्शन गर्छ ।
अर्कोतिर यो देशभित्र आम मानिस कसरी बस्छन्, यहाँको राजनीति कसरी अगाडि बढिरहेको छ, अन्य विकासका सूचकहरुको अवस्था के छ ? लगायतका विषय उत्तर कोरियाको सिमाबाहिर थाहा पाउन सकिदैन । जतिपनि सूचनाहरु आउँछन्, ती या त अनुमानको भरमा या अपुष्टरुपमा आउँने गरेका छन् ।
यस्तै अनुमान यतिबेला किम जोङ उनका उत्तराधिकारीका लागि गरिदैछ । बुधबार राति उत्तर कोरियाले विशाल सैन्य परेड आयोजना गरेको थियो । राजधानी प्योङयाङको सडकमा विश्वको जुनसुकै कुनामा प्रहार गर्न मिल्ने अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र निकालिएको थियो ।
तर, परेडका रमितेहरु र विश्वकै ध्यान ती क्षेप्यास्त्रभन्दा बढी एउटी दस वर्षीया बालिकामाथि थियो । उनी हुन्, किम जोङ उनकी छोरी किम जु ए । जसले केही समययता उत्तर कोरियाका राजकीय समारोहहरुमा केन्द्रीय स्थान प्राप्त गर्दै आइरहेकी छिन् । उनी किमकी दोस्रो सन्तान भएको विश्वास गरिन्छ ।
उनका अरु सन्तान कहिल्यै पनि सार्वजनिक भएका छैनन् । बुधबारको परेडमा पनि कालो पहिरन लगाएर जु ए बुबा किमसँगै बाल्कोनीमा खडा भएकी थिइन् । तीन महिनाको अवधिमा यो उनको पाँचौँ सार्वजनिक उपस्थिति हो । यति कम उमेर, त्यसमाथि छोटो अवधिमै दिइएको यति धेरै महत्वका कारण उनलाई भविष्यको उत्तर कोरियाको नेताका रुपमा हेर्न थालिएको छ ।
हरेक सार्वजनिक उपस्थितिसँगै उनको हैसियत बढ्दै गएको देखिन्छ । परेडको अघिल्लो दिन मंगलबार राति उत्तर कोरियाका शीर्ष सैन्य जर्नेलहरुका लागि दिइएको भोजमा उनी सरिक भइन् । उनले सेतो सर्ट र कालो स्कर्ट सुट लगाएकी थिइन् । कपाल पछाडि बाँधिएको थियो ।
सो तस्बिर उत्तर कोरिया नियाल्नेहरुलाई चकित बनाउने खालको थियो । किनभने तस्बिरमा केन्द्रीय स्थान उनैले ओगटेकी थिइन्, जो आमा र बुबाको बीचमा बसेकी थिइन् । पछाडि सैन्य अधिकारीहरु थिए । अर्को चाखलाग्दो विषय उनलाई चिनाउन प्रयोग गरिएको सरकारी भाषा पनि हो ।
जु ए पहिलो पटक सार्वजनिक हुँदा उत्तर कोरियाली सञ्चारमाध्यमले उनलाई किमकी ‘प्रिय’ छोरी भनेका थिए । सैन्य भोजपछि उनलाई ‘सम्मानित’ छोरी भन्न थालिएको छ । यो विशेषण उत्तर कोरियामा अत्यन्त पूजनीय व्यक्तिहरुका लागि मात्र प्रयोग हुन्छ । किनभने किम जोङ उनलाई पनि उत्तराधिकारी घोषित भइसकेपछि मात्र ‘सम्मानित कमरेड’ भन्न थालिएको थियो ।
कतिपय विश्लेषकहरुका अनुसार किम जु एलाई छोरीको रुपमा नभई राजकुमारीका रुपमा चिनाइरहेका छन् । स्थापनाकालदेखि नै उत्तर कोरियाको शासन किम परिवारले चलाउँदै आएको छ । अहिले सो परिवारको तेस्रो पुस्ता सत्तामा छ । किम जोङ उन निश्चय नै चौथो पुस्तालाई सत्ताको बागडोर सुम्पिन चाहन्छन् ।
तर, जु एलाई उत्तराधिकारी बनाउन चाहेकै भए पनि यति चाँडो, यति तीव्र गतिमा उनलाई अगाडि ल्याइनुको कारण के हो त? आखिर किम भर्खर ३९ वर्षका भए र जु ए अझै बच्चै छिन्। किमलाई उनका बुबा किम जोङ इलले आठ वर्षकै उमेरमा उत्तराधिकारीका रुपमा चिनाइएका थिए ।
तर, त्यसको जानकारी सैन्य नेतृत्वबाहेक कसैलाई दिइएको थिएन । सार्वजनिक रुपमा त किम जोङ इलको मृत्युको एक वर्षअघि मात्र यो किमलाई उत्तराधिकारी घोषित गरिएको थियो । त्यसैले शासकका रुपमा उनले कठिन सुरुवात गरे । त्यतिबेला उनी निर्दयतापूर्वक शक्ति एकीकृत गरे ।
सायद उनी आफ्नी छोरीलाई अलि सहज सत्ता हस्तान्तरण होस् भन्ने चाहन्छन् । सायद, उनको स्वास्थ्य उति राम्रो छैन र सायद उनीसँग लामो समय छैन । यी कुनै पनि कुरा थाहा पाउन असम्भव छ । किमलाई लामो समय चाहिने अर्को कारण हुनसक्छ– पितृसत्ता । उत्तर कोरियामा पितृसत्ताले गहिरो जरा गाडेको छ ।
यो देशको नेतृत्व महिलाले कहिल्यै गरेका छैनन् । जबकि उच्च पदहरुमा भने महिला हुने गर्छन्। विदेशमन्त्री चोइ सन हुइ, किमकी बहिनी किम यो जोङ र पत्नी रि सोल जु यो मुलुकका हाइप्रोफाइल महिला मानिन्छन्। त्यसैले मानिसहरुको धारणा बदल्न पनि किम अहिलेदेखि नै छोरीलाई अघि सार्न चाहन्छन् ।
किम वंशको भएका कारण जु ए बुबाको उत्तराधिकारी बन्न सक्ने विज्ञहरु बताउँछन् । तर, उत्तराधिकारी बन्नुअघि किमका सन्तानले उच्च पद लिएर आआफ्नो क्षमता पुष्टि गर्नुपर्ने हुन्छ । किम र उनका बुबाले पनि सत्ता सम्हाल्नुअघि सरकारमा महत्वपूर्ण पद लिएर आफूलाई प्रमाणित गरेको उनको भनाइ छ ।