५ चैत, विराटनगर ।
प्रदेशको नामका कारण प्रदेश राजधानी विराटनगर तनावग्रस्त बनेको छ । पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै आन्दोलनमा उत्रीएका पहिचान पक्षधरले विराटनगरमा मुख्यमन्त्री कार्यालय अगाडी ढुङ्गामुढा प्रहार गरेका छन् ।
प्रदर्शनमा सहभागीहरूले नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्न खोज्दा प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । प्रहरीले अश्रुग्यास प्रहार गरेर भिड तितरबितर पारेको छ । प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै विराटनगरमा निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो । भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ । तर पनि आन्दोलनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।
कोशी प्रदेशको नाम पुनः नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको रोडशेष चोकमा प्रदर्शन गरेको थियो । प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ ।
त्यसयता पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् । आइतबार प्रदर्शनपछि आयोजित सभालाई नेताहरु गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेनलगायत नेताले सम्बोधन गरेका छन् । प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको पाँच ठाउँमा निषेधाज्ञा जारी गरेको थियो।
प्रशासनले प्रदेशसभा (पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म), कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म) , मुख्यमन्त्री निवासको ३०० मिटर वरपर, प्रदेश प्रमुखको कार्यालय र निवास तथा जिल्ला प्रशासन कार्यालय मोरङ आसपास निषेधित क्षेत्र घोषणा गरेको हो ।
७ प्रदेश मध्ये ६ प्रदेशको पहिलो कार्यकालमा नै प्रदेशको नाम पाएपनि प्रदेश १ ले भने प्रदेश सभाकोे दोस्रो कार्यकालमा नाम पाएको हो । पहिला देखि नै पहिचानको पक्षमा रहदै आएको माओवादी पनि कोशी नामका विषयमा सहमत भएपछि प्रदेश १ ले ६ वर्षपछि नाम पाएको छ ।