२५ चैत, काठमाण्डौ ।
दशरथ रंगशालमा नेपालले आज भियतनामसंग दोस्रो खेल खेल्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पेरिस ओलम्पिक २०२४ को छनोट अन्तर्गत पहिलो चरणको दोस्रो खेलमा आज भियतनामसँग प्रतिस्पर्धा गर्न लागेको हो । समूह सीमा दुई टिम मात्र रहेकोले नेपाल र भियतनामले एकआपसमा दुई खेल खेल्ने लागेका हुन् ।
समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपाल र भियतनामले दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको हो । आजको खेल साँझ ६ बजे सुरु हुनेछ । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल भियतनामसँग ५–१ ले पराजित भएको थियो । दुई खेलपछि समग्रमा विजेता हुने टोली समूह विजेता बन्दै दोस्रो चरणमा पुग्नेछ ।
नेपालले समूह विजेता बन्न भियतनामलाई कम्तीमा चार गोल अन्तरले हराउनुपर्नेछ । तर विश्वकप खेल्न लागेको भियतनामविरुद्ध नतिजा उल्टाउन नेपालका लागि सहज भने छैन । पहिलो खेलमा सुरुआतमै पाएको अवसर सदुपयोग गर्न नसक्दा नेपालले पाँच गोल खाएको थियो । नेपालका लागि दोस्रो हाफमा सावित्रा भण्डारीले एक गोल फर्काएकी थिइन् ।
यता, पहिलो खेलबाट नै सहज जित निकाल्दै दोस्रो चरणमा छनोट हुन एक कदम अगाडि बढेको भियतनाम घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । भियतनामलाई दोस्रो चरणमा छनोट हुन झिनो हार या बराबरीको नतिजा नै पर्याप्त हुनेछ । पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् । दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।