२६ चैत, काठमाण्डौ ।
नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेका छन् । सरकारले पछिल्लो पटक ४ प्रहरी नायव महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । जसले आइतवार दर्ज्यानी चिन्ह लगाएका छन् ।
एआईजीमा बढुवा भएका सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दर्ज्यान्ही चिन्ह लगाएका हुन् । डीआईजी मीरा चौधरीले दर्ज्यान्ही चिन्ह लगाएसँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक दुई महिला एआईजी भएका छन् ।
यो नेपाल प्रहरीको इतिहासमा पहिलो पटक उच्च पदमा दुई महिला प्रहरी पुगेको संदर्भ हो । केही साता अघि सरकारले किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो । उनी हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा कार्यरत छिन् । नेपाल प्रहरीको इतिहासमा यसअघि प्राविधिक बाहेक एआइजीमा पूजा सिंह मात्रै पुगेकी थिइन् ।
तर, दुई जना महिला प्रहरी भएको पहिलो पटक हो । प्राविधिकबाहेक हाल नेपाल प्रहरीमा ८ जना एआईजी छन् । जसमा दुई महिला एआईजी भएका हुन् । त्यस्तै प्राविधिकतर्फ एक जना महिला एआईजी छिन् । नेपाल प्रहरीको प्रहरी अस्पतालमा प्रमुखको रुपमा डाक्टर आशा सिंह एआईजीका रुपमा कार्यरत छिन् ।
यसरी हेर्दा नेपाल प्रहरीमा अहिले तीन जना महिला प्रहरी एआईजी रहेका छन् । नेपाल प्रहरीमा महिलाको सहभागिता २००८ सालदेखि हुँदै आएको भएपनि अहिलेसम्म नेपाल प्रहरीले प्रहरी प्रमुखका रुपमा महिला प्रहरी नेतृत्व भने पाएको छैन् ।