१० वैशाख , काठमाण्डौ ।
युएईका ओपनर तथा कप्तान मुहम्मद वासिम र वृत्य अरबिन्दको सानदार शतकको सहयोगमा युएईले सिंगापुरलाई ४७२ रनको बिशाल लक्ष्य दिएको छ । टियु मैदान कीर्तिपुरमा जारी एसीयन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा युएईले ४ सय ७१ रन बनाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुदै ४ सय ७१ रन बनाएको हो । युएईका लागि कप्तान तथा ओपनर मुहम्मद वासिम र वृत्य अरबिन्दले शतकीय ईनिङ खेले । वासिमले ८२ बलमा ९ चौका र १६ छक्काको सहयोगमा १ सय ६० रन बनाए । वासिमले ८२ बलमा आफ्नो शतक पूरा गरेका थिए ।
शतक बनाएको १७ बल पछि उनले १ सय ५० रन पूरा गरेका थिए । अरबिन्दले १ सय ३३ बलमा १७ चौका र ७ छक्काको सहयोगमा १ सय ७४ रन बनाए । अरबिन्दले ९६ बलमा शतक पूरा गरेका थिए । अर्को ३० बलमा उनले १ सय ५० रन पूरा गरे ।
आयान खानले ५० बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७४ रनको अर्धशतकीय ईनिङ खेले । सचित शर्मा ८ बलमा १६ रन बनाउँदै अविजित रहे । सिंगापुरका लागि अदिद्य भार्गभले ४ र रमेश कलिमुथुले ३ विकेट लिए । विनोद बसकरनले २ विकेट लिए । प्रतियोगिताको तेस्रो खेल खेल्न लागेका दुवै टोली जितको खोजीमा रहेका छन् ।
लगातार दुई हारसँगै अंक बिहिन सिंगापुर पहिलो जितको खोजीमा मैदानमा छ । उपाधीको दावेदार युएई भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । वैशाख १८ गते सम्म संचालन हुने प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल संचालन भईरहेको छ ।
कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । यस प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहेको छ । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ ।समूह ’ए’ मा आयोजक नेपाल सहित मलेसिया,साउदी अरेबिया, कतार र ओमान रहेका छन् ।
समूह ’बी’ मा बहराइन,कुवेत,सिंगापुर,हङकङ र युएई रहेका छन् ।हरेक समूहमा शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनल खेल्ने छन् । सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छ।फाइनलको विजेता टोली एसीया कपका लागि छनोट हुनेछ । एसीया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ । यस्तै शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।