२४ वैशाख, काठमाण्डौ ।
सर्वोच्च अदालतले फास्ट ट्रयाकमा किनारा लगाउनु भनेको नाबालिका बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ । आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो । तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो ।
मुद्दाको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए । काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दा बिदामा बसेका न्यायाधीशको इजलासमा परेको कारण स्थगित भएको हो ।
फाँट नम्बर २८ मा रहेका निवेदन लगायतका अन्य सबै मुद्दाहरू स्थगितको सूचीमा परेको छ । हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ । यसअघि वैशाख ११ गतेको पेसीमा चढेको उक्त मुद्दामा पीडित किशोरीको स्वास्थ्य परीक्षण गराउने डाक्टरलाई नै झिकाएर बकपत्र गराउने आदेश भएको थियो ।
मुद्दाको सम्पूर्ण प्रक्रिया पूरा भई अङ्ग पुगेको उक्त मुद्दामा वैशाख २४ गते आइतबारका दिन अन्तिम सुनुवाइ हुने अपेक्षा गरिएको थियो । तर गोला तान्दा बिदामा बसेका न्यायाधीशको बेन्चमा उक्त मुद्दा परेपछि आइतबार अदालतकै तर्फबाट स्थगित भएको हो । वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन ।
जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो । तर आज पनि सुनुवाइ हुन सकेन । सन्दीपविरुद्ध एक किशोरीले २०७९ भदौ २० गते बलात्कारको आरोपमा जाहेरी दिएकी थिइन् । जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
पछि उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै सन्दीप छुटेका थिए । सर्वोच्चले पनि सन्दीपलाई छाड्ने उच्चको आदेश सदर गर्दै विदेश जान लागेको प्रतिबन्ध पनि फकुवा गरेको थियो । सर्वोच्चले त्यतिबेलै मुद्दा छिटो फैसला गर्न जिल्ला अदालतलाई भने पनि विभिन्न कारणले जिल्ला अदालतमा पटक पटक सर्दै आएको छ ।