२७ वैशाख, काठमाण्डौ ।
भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट करोडौं रकम संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि काठमाडौं प्रहरी परिसरको टोलीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट पक्राउ गरेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
उनलाई प्रहरी परिसर टेकु लगिएको छ । आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ११ जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री बालकृष्ण खाँणको समेत नाम लिएका थिए ।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । दुई दिनअघि खाँणलाई बोलाएको बेला हाजिर हुने शर्तमा प्रारम्भिक बयान लिएर कागज गरी छाडिएको थियो । यस्तै पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन् । उनलाई चाबहिलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख दानबहादुर केसीले बताएका छन् ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । उनी गत बुधवारदेखि सम्पर्कविहीन छन्। नेपाल प्रहरीको विभिन्न युनिटले उनलाई खोजिरहेको छ । उनका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । नक्कली शरणार्थी प्रकरणमा हाई प्रोफाइल व्यक्तिको नाम आएसँगै यो विषय जटिल बनेको हो ।
सामाजिक सञ्जालबाट सार्वजनिक भएका अडियोहरुका अनुसार सांसद तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवा र पूर्व गृह मन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको पनि यस प्रकरणमा नाम जोडिएको छ ।
नक्कली शरणार्थी बनाउने गिरोहले काम फत्ते नगर्दै केपी ओली सरकार ढल्यो र रामबहादुर थापा बादल सर्वाेच्चको आदेशबमोजिम मन्त्रीबाट पदमुक्त भएपछि गृहमन्त्री बनेका बालकृष्ण खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आएका थिए ।
गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेको बयानमा उनीहरुले भनेका छन् । ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताएका थिए ।
उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताएका थिए । प्रहरी स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए । गृह सचिव पाण्डेले नै गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए ।
प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए । त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठ दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउने बताउदै आएका छन् भने प्रधानमन्त्रीले आफ्नो लडाइँ अब भ्रष्टाचारसँग रहेको बताएका छन् । यी अभियुक्तविरुद्ध जेठ १२ भित्र अदालतमा मुद्दा दायर गर्नुपर्नेछ ।