२ जेठ , काठमाण्डौ ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार मंगलवार दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश र वाग्मती प्रदेशका पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ । मंगलवार राति कोशी प्रदेशलगायत वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।