चुनाव सकिएको ६ महिनापछि ‘मिनी संसद’को बैठक

चुनाव सकिएको ६ महिनापछि ‘मिनी संसद’को  बैठक

२ जेठ, काठमाण्डौ ।
आम निर्वाचन भएको ६ महिनापछि संसदीय समितिहरु सक्रिय भएका छन्। प्रतिनिधि सभाको पहिलो बैठक बसेको समेत ६ महिना पुग्न लाग्दा ‘मिनी संसद्’ मानिने संसदीय समितिहरुको बैठक आज बसेको छ। प्रतिनिधि सभाको चुनाव गएको मंसिर ४ गते भएको थियो। यस्तै, प्रतिनिधि सभाको पहिलो बैठक पुस २५ गते बसेको थियो।

तर संसदीय समितिहरु भने गठन हुन सकेका थिएनन्। प्रमुख राजनीतिक दलबीच भागबण्डा नमिल्दा मिनी संसद्का रुपमा चिनिने संसदीय समिति गठनको विषय सर्दै आएको थियो। प्रतिनिधि सभाका १० वटा समितिमा रहने सदस्यहरुको नाम गत वैशाख १५ गते मात्रै टुंगिएको थियो।

सदस्यहरुको नाम टुंगिएका प्रतिनिधि सभाका समितिको बैठक मंगलबार बसेको हो। समितिहरुको बैठक मंगलवार सिंहदरबारस्थित आ–आफ्नो कार्यालयमा बसेको हो । सबै समितिहरुको बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्यहरुले गरेका छन् । सार्वजनिक लेखा समितिको सभापतित्व समितिका ज्येष्ठ सदस्य नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले गरेका छन् ।

पूर्वाधार विकास समितिको सभापतित्व नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले गरेका छन् ।

त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रणेन्द्र बराइली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा जनता समाजवादी पार्टीका सांसद नवल किशोर साह सुडी, शिक्षा तथा स्वास्थ्य समिति सभापतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद कालुराम राई र राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी रहेका छन् ।

त्यस्तै, कानून, न्याय तथा मानव अधिकार समिति बैठकको सभापतित्व नेपाली काँग्रेसका सांसद शेरबहादुर देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतित्व राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्की र अर्थ समितिको सभापतित्व नेपाली काँग्रेसका सांसद सन्तोष चालिसेले गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.