१९ जेठ,एजेन्सी ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्नी सीता दाहालको स्वास्थ्य लाभको कामनासहित उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा विशेष पूजा गरेका छन् । शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगेका हुन् ।
उनले त्यहाँस्थित महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेको जनाइएको छ । विशेष पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल पनि उपस्थित थिए ।
भारतीय अधिकारीहरूका अनुसार मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले प्रधानमन्त्री प्रचण्डबाट विशेष पूजा गराएका हुन् । महाकालेश्वर दर्शनका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालबाटै लगेको १०८ रुद्राक्ष र नगद ५१ हजार रुपैयाँ चढाएको बताइएको छ ।
महाकालेश्वर मन्दिरलाई १२ ज्योतिर्लिङ्गमध्ये एक मानिन्छ । प्रधानमन्त्री प्रचण्ड मन्दिर पुग्दा ’अतिविशिष्ट प्रोटोकल’का कारण ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार संयुक्त पत्रकार सम्मेलनमा महाकालेश्वरको दर्शनले अध्यात्मिक महसुस हुने प्रचण्डलाई विश्वास दिलाएका थिए ।
उनले भनेका थिए, ’सम्माननीय प्रधानमन्त्री प्रचण्डजी, भोलि इन्दोर र धार्मिक सहर उज्जैनको यात्रा गर्नुहुनेछ । मलाई विश्वास छ, तपाईँको उज्जैन यात्रा ऊर्जामयी हुनेछ र पशुपतिनाथदेखि महाकालेश्वरको यस यात्रामा तपाईँलाई अध्यात्मिक अनुभूमि मिल्नेछ।’
पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा प्रकाशशरण महत, छोरी गंगा पनि सहभागी भएका छन् । उज्जैनपछि दाहाल इन्दौर पुगेका थिए । त्यहाँ उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका थिए ।
प्रचण्डले स्मार्ट सिटीका रूपमा रहेको इन्दौरको फोहोर व्यवस्थापन प्लान्टको अवलोकन गरेका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले प्रधानमन्त्री दाहालको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । दाहाल शनिबार दिल्ली हुँदै काठमाडौं फर्कने कार्यक्रम छ ।