२ असार, एजेन्सी ।
दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा किभ र मस्कोबीच शान्ति स्थापनाका लागि मध्यस्थता गर्न चाहने अफ्रिकी नेताहरूको प्रतिनिधिमण्डलसहित शुक्रवार युक्रेन पुगेका छन् । रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्न सेन्ट पिटर्सबर्ग जानुअघि चार राष्ट्रपति र तीन प्रतिनिधिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग किभमा वार्ता गर्ने कार्यक्रम छ ।
गएको वर्ष रुसले युक्रेनमाथि आक्रमण गरेपछि खाद्यान्नको बढ्दो मूल्य र विश्वव्यापी व्यापारमा परेको व्यापक प्रभावका कारण नराम्ररी प्रभावित भएको महाद्वीपको आवाजलाई उच्चस्तरीय कुटनीतिक टोलीले टेबलमा ल्याउने बताइएको छ । रामाफोसासँगै सेनेगलका म्याकी सल र जाम्बियाका हाकाइन्दे हिचिलेमा र कोमोरोसका अध्यक्ष अजाली असौमानी पनि सहभागी हुनेछन् ।
युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनी, इजिप्टका अब्देल फत्ताह अल–सिसी र कङ्गो–ब्राजाभिलका राष्ट्रपति डेनिस सासु नगुएसोले भ्रमण दलमा आफ्ना प्रतिनिधि पठाएका छन् । यसअघि चीनले पनि युद्ध अन्त्यका लागि मध्यस्तता गर्ने बताएको थियो । रुस र युक्रेनबीचको युद्ध अन्त्यका लागि पटक पटक पहल गरिएपनि उनीहरुबीच युद्ध झनै भिषण बन्दै गएको छ ।
यसैबीच रुसी आणविक हतियार बोकेका क्षेप्यास्त्र र बमको पहिलो खेप बेलारुस पुगेको छ । अमेरिकाले यस्तो हतियार युरोपमा तैनाथ गरेको बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि गत मार्चमा पहिलो पटक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका थिए । मस्कोले क्षेप्यास्त्रको नियन्त्रण आफ्नो हातमा रहने बताउँदै यी लामो दूरीको नभएर रणनीतिक क्षेप्यास्त्र मात्र भएको स्पष्ट पारेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले भने, ‘मेरो अमेरिकासँग लड्ने योजना छैन, रणनीतिक हतियार मात्र हाम्रो लागि ठीक छ ।’ इस्कान्डर रकेटको दायरा ५०० किलोमिटर वा सोभन्दा बढी रहेको उनले बताए । लुकाशेन्कोलाई रुसको प्रमुख सहयोगीका रूपमा रहेका छन् ।
फेब्रुअरी २०२२ मा युक्रेनमा भएको आक्रमणको लागि बेलारुसले रुसका लागि लन्चप्याडको भूमिका खेलेको थियो । रुसले आफ्नो पश्चिमको कालिनिनग्राद क्षेत्रमा आणविक हतियारहरू तैनाथ गरिरहेको छ । यसको दायरामा पोल्याण्ड र बाल्टिक देशहरू आउँछन् ।