८ भदौ , काठमाण्डौ ।
मलेसियासँग हारे पनि नेपाल चार देश सम्मिलित महिला टी–२० शृङ्खलाको फाइनलमा पुगेको छ । आज शुक्रवार मलेसियाको बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले दिएको ८४ रनको सामान्य लक्ष्य मलेसियाले १६ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो ।
मलेसियाका लागि अइना हमिजा हशिमले नटआउट ३७ र माहिराह इजाती इस्मेलले २१ रन बनाइन् । बलिङतर्फ नेपालकी कप्तान रुबिना क्षेत्री, पूजा महतो र सीता राना मगरले १ / १ विकेट लिइन् ।यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित १८ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनायो ।
वर्षाका कारण २० ओभरको खेल १८ ओभरमा झारिएको थियो ।नेपालका लागि कप्तान रुबिना क्षेत्रीले २३, इन्दु बर्माले २० र विकेटकिपर काजल श्रेष्ठले १८ रन बनाइन् । बलिङतर्फ मलेसियाकी अइना हमिजा हशिम, नुर दानिया स्युहादा र माहिराह इजाती इस्मेलले २/२ विकेट लिइन् ।
नेपाल ३ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा रह्यो । यस्तै हङकङ पनि उति नै खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको छ । मलेसियाले पनि ४ अङ्क जोडे पनि नेट रनरेटमा पछाडि पर्दा फाइनल पुग्न सकेन । फाइनल खेल भोलि शनिवार हुनेछ । भोलि नै मलेसिया र ३ खेलमै अङ्कविहीन रहेको कुवेतबीच तेस्रो र चौथो स्थानका लागि खेल हुनेछ ।

