८ भदौ , एजेन्सी ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी सम्मिलित हापोएल रानाना महिला फुटबल क्लब इजरायलको एथेना कपको सेमिफाइनलमा पराजित भएको छ । विहीबार राती भएको खेलमा लिग च्याम्पियन किर्यात गातसँग पराजित भएपछि रानानाको यात्रा सेमिफाइनलमा नै रोकिएको हो ।
युरोपेली च्याम्पियन्स लिगको छनोट खेल्ने तयारीमा रहेको किर्यात गातले भने ३–० को जित दर्ता गर्दै फाइनलमा स्थान पक्का गरेको छ । पछिल्लो खेलमा फराकिलो हार बेहोरेको रानानाले लिग च्याम्पियनविरुद्ध भने राम्रो प्रदर्शन गरेको छ । नेपाली फरवार्ड साम्बाले बलियो प्रतिद्वन्द्वीविरुद्ध केहि अवसर पाएपनि विपक्षी गोलरक्षक बाधक बन्दा गोल गर्न सकिनन् ।
यसअघि रानानाको लागि डेब्यु खेलमा सावित्राको डेब्यु गोल र १ असिस्टले टोलीलाई २–० को जित दिलाउन सफल भएकी थिइन् । सावित्राले हाडेरा ट्यालेन्ट्स विरुद्धको खेलमा डेब्यु गोल गरेकी थिइन् । सोहि खेल रानानालाई समूह उपविजेता बन्दै सेमिफाइनलमा पुर्याउन निर्णायक बनेको थियो ।
दोस्रो खेलमा हापोएल जेरुसलम विरुद्ध रानाना ६–० ले पराजित भएको थियो । एथेना कपको फाइनल अब किर्यात गात र हापोएल जेरुसलम खेल्नेछन् । दुवै टोलीले रानानालाई पराजित गरिसकेका छन् । अब रानानाले अर्को विहीबार लिग अन्तर्गत पहिलो खेल खेल्नेछ ।
सावित्राले रामात हासारोनविरुद्ध खेल्दै लिग डेब्यु गर्नेछिन् ।सावित्रा इजरायली लिगमा अनुबन्ध भएर खेल्ने पहिलो नेपाली महिला खेलाडी समेत हुन् । एसियन राष्ट्र भए पनि युइएफएमा आबद्ध भएर लिग राष्ट्रिय टिम र क्लब फुटबल खेल्ने भएकाले सावित्राले युरोपियन फुटबलको स्वाद समेत लिन पाउनेछिन् ।