११ भदौ, काठमाण्डौ ।
सहकर्मी कलाकार सारुक ताम्राकारको निधनलाई लिएर अनेकौ आशंका र प्रश्न गरिएपनि लामो समयसम्म मौन बसेकी अभिनेत्री नम्रता श्रेष्ठले बल्ल मौनता तोडेकी छिन् । तर उनले मौन रहनु गल्ती स्वीकार गर्नु नभएको स्पष्ट पारेकी छन् । नम्रताले आफ्नो मौनतालाई कमजोरी नठान्न चेतावनी पनि दिएकी छन् ।
अभिनेता सारुक ताम्राकारको आत्महत्यासँग आफूलाई जोडेर भ्रामक र एक पक्षीय समाचार आएको भन्दै उनले यसबारे आफ्नो कानुनी टिमले अध्ययन गरिरहेको बताएकी छन् । आफू विरामी रहेका कारण मिडियामा नआएको उनको भनाइ छ । “म बिरामी थिएँ । म र मेरो परिवारले चलचित्र ह्यासट्याग माया’को निर्माण युनिट र सारुकको परिवारसँग सम्पर्क गर्ने प्रयास गरेको थियो । तर, उहाँहरू सम्पर्कमा आउनु भएन,” उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।
आफू क्यानडा गएको भन्ने समाचारमा सत्यता नरहेको पनि उनले स्पष्ट पारेकी छन् । यसबारे प्रहरी पनि जानकार रहेको उनी बताउँछिन् । आफूले प्रहरीसमक्ष बयान दिएको बताएकी उनले बुटी बाँध्न लगाएको र कालो बोका काटेको भन्ने हल्लामा पनि सत्यता नरहेको उनको दाबी छ । बुटी र बोको पूजा गर्ने भनेर नाम जोडिएका तान्त्रिक गुरुको पनि प्रहरीले बयान लिइसकेको उनले जानकारी दिएकी छन् ।
सारुक सहयोगी र राम्रो कलाकार भएको भन्दै नम्रताले उनको न्यायका लागि अपिलसमेत गरेकी छन् । नम्रतासँगै चलचित्र ‘ह्यासट्याग माया’मा सँगै काम गरिरहेका अभिनेता सारुकले असार २१ गते आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेका थिए । सारुकको मृत्युमा नम्रतामाथि विभिन्न खाले प्रश्न उठिरहेका थिए । सारुक आत्महत्याको केस प्रहरीसम्म पुगेको छ ।
प्रहरीले घटनाको दाोषी भनिएका मानिसलाई बोलाएर सोधपुछ गरिरहेको छ । यसैबिच शनिबार सारुकको मृत्युपछि अचेत भएका उनका बुवा तथा वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भयो । सारुकको मृत्युमा सामाजिक सञ्जालमा मौन देखिएकी नम्रताले श्रद्धाञ्जली व्यक्त गरिन्। त्यहाँ पनि उनी माथि प्रश्न उठे । त्यसपछि नम्रताले सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै आफ्नो धारणा व्यक्त गरेकी हुन् ।